काठमाडौं, पुस २६ गते। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताउनुभएको छ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विभागीय मन्त्री र कर्मचारीको स्वार्थका कारण नेपाल हवाइसेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक आउन नसकेको बताउनुभएको हो।
उहाँले राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको भए पनि स्वार्थवश प्रतिनिधि सभाबाट पुनः राष्ट्रिय सभामा फिर्ता नआएको बताउनुभयो। उहाँले युरोपियन युनियनले नेपालीलाई कालोसूचीमा राखेको अवस्थामा सेवा प्रदायक निकाय र नियामक निकाय एउटै हुनुनहुने प्रावधानसहित विधेयक ल्याउनुपर्ने भए पनि कर्मचारीले सो कुरा स्वीकार गर्न नसकेका बताउनुभयो। उहाँले वायु सेवा निगमका कर्मचारीले पार्टीका नेताको कुरा सुनेका पनि बताउनुभयो। उहाँले अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्नसक्ने भएपनि प्रयत्न नगरिएको बताउनुभयो।