• १२ मंसिर २०८१, बुधबार

टिम च्याम्पियनसिप बुद्धिचाल : नकआउट समीकरण पूरा

blog

टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, पुस २६ गते । छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको नकआउट समीकरण पूरा भएको छ ।

नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी च्याम्पियनसिपमा लिग चरणसम्मको खेल समाप्तिसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस सङ्घ, भक्तपुर जिल्ला बुद्धिचाल सङ्घ र मकवानपुर जिल्ला बुद्धिचाल सङ्घ नकआउट चरणमा प्रवेश गरेका छन् । 

बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा रोचक प्रतिस्पर्धा हुन पुगेको थियो । प्रतियोगितामा उत्कृष्ट खेल पस्किरहेको दोलखा चेस होम नेपालमाथि कोसी प्रदेशले रोमाञ्चक जित निकालेको थियो । जसमा वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले प्रकाश चन्द्र नेपाललाई हराउनुभएको थियो । 

सुश्रुत दाहाल र सविन चन्द्र घिमिरेबिचको खेल बराबरीमा सकियो भने मुहान नर्सिङ मिसन दाहालसँग हार्नुभयो । यस्तै वर्तमान महिलातर्फको नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी कृतिसरा अधिकारीसँग स्तब्ध बन्नुभयो । जसले गर्दा कोसी प्रदेश दोलखा चेस होमसँगै नकआउट चरणमा प्रवेश गरेको छ । 

भक्तपुर चेस सङ्घले नकआउट चरणमा प्रवेश गर्ने क्रममा थापाथली पार्क चेस क्लबमाथि २.५–१.५ को कठिन जित निकाल्यो । जसमा पुरुषोत्तम सिलवाल र क्षितिज भण्डारीबिचको खेल बराबरीमा सकियो । विक्रम चोकामी सुशील चौधरीसँग हार्नुभयो भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुप जङ्ग शाहमाथि जित निकाल्नुभयो । 

मकवानपुर चेस र आयोजक ललितपुर स्पोर्ट्स क्लबबिचको खेलमा जित्ने टोली नकआउट चरणमा प्रवेश गर्ने थियो । उक्त खेलमा सीएम कृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमसहित तीन खेलाडीले महत्त्वपूर्ण जित निकाल्नुभयो । सुदेन टुइँटुइँ रिसोन थापासँग पराजित भएपनि टोलीलाई कुनै असर परेन ।

राष्ट्रिय स्तरका उत्कृष्ट १९ क्लबको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले दुई लाख र उपविजेताले एक लाख २० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार रुपियाँ तथा प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरूलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनल खेल हुनेछ । प्रतियोगिता पुस २८ गतेसम्म चल्नेछ ।