• ११ मंसिर २०८१, मङ्गलबार

वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने दुई पक्राउ

blog

काठमाडौं, पुस २६ गते ।  प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार दुबई पठाउने भनी पन्चान्द रायसहित पाँच जनाबाट पटकपटक गरी सात लाख २० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय ललन कुमार रायलाई पक्राउ गरिएको छ ।

स्थायी घर सप्तरी विष्णुपुर गाउँपालिका वडा नं. ६ भई हाल काठमाडौँ बस्ने रायले दुबई जान प्रतिव्यक्ति दुई लाख २० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपियाँ हुने भनी विश्वास दिलाइ प्रलोभनमा पारेका थिए ।

यसैगरी, क्रोएसिया पठाउने भनी पाँच लाख रुपियाँ ठगी गर्ने ३२ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थायी घर धनकुटा भई हाल काठमाडौँ बस्ने राईले जयराम भण्डारीलाई क्रोएसिया जान प्रतिव्यक्ति ११ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक तलब एक लाख रुपियाँ हुने भनी प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।