• १२ मंसिर २०८१, बुधबार

भलिबलमा पुलिस च्याम्पियन

blog

उपाधि विजेता पुलिस टोली । तस्बिर : गोरखापत्र

नविन सुवेदी

सुर्खेत, पुस २६ गते । ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । 

पुलिसले साबिक विजेता एपीएफको अपराजित यात्रामा पूर्णविराम लगायो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । यससँगै पुलिसले समूह चरणमा एपीएफसँग भोगेको हारको बदला समेत लिएको छ ।

समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो । वर्ष २०८० मा पुलिसले सातौँ फाइनल खेल्दा पहिलो उपाधि जित्न सफल भएको हो । पुलिसले पोस्ट बहादुर बोगटी स्मृति कपसँगै ललितपुर मेयर कप, सातौँ प्रधानमन्त्री कप एनभिए क्लब लिग, लामाचौर कप, विरजङ स्मृति कप र बुकी कपको फाइनल गुमाएको थियो ।

पुलिसले ललितपुर मेयर कप र बुकी कपमा आर्मी, लामाचौर र विरजङ स्मृति कपमा गण्डकीसँग तथा एनभिए क्लब लिगमा हेल्प नेपाल र पोस्ट बहादुरमा एपिएफसँग हार बेहोरेको थियो । पुस २० बाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।