काभ्रेपलाञ्चोक, पुस २६ गते । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आज सम्पन्न १४ औँ नगर सभाले चार विधेयक पास गरेको छ । नगरप्रमुख महेश खरेलले पेस गर्नुभएको दुई विधेयक संशोधन प्रस्ताव र दुई नयाँ विधेयक नगर सभा सदस्यले सर्वसम्मत पास गरेका हुन् ।
खरेलद्वारा प्रस्तुत दुई नयाँ नगर प्रहरी विधेयक, २०८० र वन विधेयक, २०८० सर्वसम्मतले पास गरिएको हो । यस्तै खरेलद्वारा प्रस्तुत आर्थिक ऐन संशोधन र विनियोजन ऐनमा संशोधन प्रस्ताव पास भएको छ । उपप्रमुख सूर्यमाया दनुवारले चालु आर्थिक वर्षको पुससम्मको समग्र प्रगति र न्यायिक समितिको प्रगति प्रस्तुत गर्नुभएको थियो ।
नगरको चालु आव २०८०/८१ का लागि विनियोजित कुल ७९ करोड ९८ लाखमध्ये हालसम्म २९ दशमलव ३६ प्रतिशत खर्च भएको छ । चालुतर्फ १५ करोड २४ लाख चार हजार र पुँजीगततर्फ २६ दशमलव ९७ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
यस्तै नगरको चालु आवको हालसम्म विषयगत खर्च विवरणअनुसार आर्थिक विकासतर्फ तीन करोड ११ लाख ७८ हजार विनियोजन भएकामा २५ दशमलव १२ प्रतिशत, सामाजिक विकासतर्फ २९ करोड ५८ लाख चार हजार विनियोजन भएकामा ३२ दशमलव ९९ प्रतिशत, पूर्वाधार विकासतर्फ विनियोजित २५ करोड ४९ लाख ८३ हजारमध्ये २८ दशमलव ९८ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ दुई करोड १० लाख ६१ हजार पाँच सय विनियोजन भएकामा १० दशमलव ०७ प्रतिशत तथा कार्यालय सञ्चालन र प्रशासनिक विषयतर्फ विनियोजित १९ करोड ६८ लाख एक हजार पाँच सयमा २७ दशमलव १७ प्रतिशत खर्च भएको छ । रासस