राजकुमार भट्टराई
खोटाङ, पुस २६ गते। खोटाङमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा यो वर्ष कृषकले ३७ करोड बढीको सुन्तला उत्पादन गरेका छन्।
अघिल्लो वर्ष ३ हजार ७ सय २५ मेट्रिकटन सुन्तला खोटाङमा उत्पादन भएको थियो। यस वर्ष १० मेट्रिकटनले बढेर ३ हजार ७ सय ३५ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ। जिल्लामा उत्पादन भएको सुन्तला ३७ करोड ३५ लाख रुपैयाँ बराबरको रहेको ज्ञान केन्द्रका सूचना अधिकारी सञ्जयकुमार पण्डितले बताउनुभयो।
पण्डितका अनुसार कृषकलाई अहिले बजारको समस्या पनि छैन। जिल्ला बाहिरका व्यवसायी आएर बगैँचा नै ठेक्का लिने गरेका छन्। बगैँचा ठेगेर खोटाङका सुन्तला व्यवसायीले धरान, धनकुटालगायतका ठाउँमा लाने गरेको कृषकले बताएका छन्।
खोटाङमा आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। यस वर्ष जन्तेढुङ्गा गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा सबैभन्दा धेरै सुन्तला उत्पादन भएको छ। केही वर्ष यता सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै गएको छ। रोग, किरा तथा बगैँचा व्यवस्थापन गरेका कारण सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ दशमलव ९०, हलेसी तुवाचुङ नगरपालिकामा ५ दशमलव २६, जन्तेढुंगा गाउँपालिकामा ५ दशमलव ६३, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ५ दशमलव ५०, बराहपोखरी गाउँपालिकामा ५ दशमलव ३६, खोटेहाङ गाउँपालिकामा ५ दशमलव २०, रावा बेसी गाउँपालिकामा ५ दशमलव २९, साकेला गाउँपालिकामा ४ दशमलव ५८, केपिलासगढी गाउँपालिकामा ४ दशमलव ४० र ऐसेलुखर्क गाउँपालिकामा ४ दशमलव १३ मेट्रिक टन सुन्तलाको उत्पादकत्व रहेको छ।