• १२ मंसिर २०८१, बुधबार

तिनै तहका सरकार मिलेर विकासलाई अघि बढाऔँ : मुख्यमन्त्री शर्मा

blog

जिल्ला समन्वय समिति सुर्खेतको सातौँ जिल्ला सभाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राजकुमार शर्मा।

सुर्खेत, पुस २५ गते। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म र भावना अनुसार तिनै तहका सरकार सहमति र सहकार्य गरेर विकासमा लाग्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘एक्लै हिँडेर होइन, तिनै तहका सरकार एक आपसमा सहमति, सहकार्य गरेर विकास गरेर अघि बढौँ।’’ 

जिल्ला समन्वय समिति सुर्खेतको सातौँ जिल्ला सभाको उद्घाटन गर्दे मुख्यमन्त्री शर्माले  तीन तहका सरकारले आ–आफ्ना एकल र साझा अधिकारलाई प्रयोग गरेर जनतालाई विकासको अनुभूति दिलाउनुपर्ने बताउनुभयो।  उहाँले भन्नुभयो तिनै तहका सरकारले गर्ने काम भनेको स्थानीय तहमै हो। जनतालाई केन्द्रमा राखेर गर्ने हो। त्यही भएर सहकार्य गरेरै काम गर्ने हो। 

‘‘अनुगमन र सन्तुलनका लागि जिल्ला समन्वयलाई जिम्मेवारी भए पनि दक्ष जनशक्ति अभाव भएकाले यसतर्फ पनि सोच्नुपर्ने विषयमा छलललको आवश्यकता छ’’, मुख्यमन्त्री शर्माले भन्नुभयो। स्थानीय तह, जिल्ला समन्वय  र प्रदेश सरकार बिच समस्या र अवसरका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले जनताको त्याग बलिदानबाट प्राप्त व्यवस्था, लोकतन्त्र, गणतन्त्रलाई प्रश्न गर्नेमाथि  कामले बिर्को लगाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘सङ्घीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रमाथि यदा कदा प्रश्न उठाइन्छ। हामीले काम गरेर लोकतन्त्र र गणतन्त्र विरोधीलाई बिर्को लगाउनुपर्दछ।’’

अहिलेको राजनीतिको युग होइन, विकास र समृद्धि भएकाले सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने कँडेलको भनाइ छ।