• १३ साउन २०८१, आइतबार

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

blog

फाइल तस्बिर

शेरबहादुर सार्की

बाजुरा, पुस २५ गते । बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका-६ कोर्धकी ३० वर्षीया सीमा बडुवालको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बच्चा पाठेघरमा अड्किएर सुत्केरी गराउन नसकिने भएपछि उहाँलाई सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका प्रमखु समिता पुनले बताउनुभयो । उहाँले भन्नुभयो,“गर्भजाँच गराउन जिल्ला अस्पतालमा आएकी बडुवालको बच्चा पाउने समयभन्दा बढी भएको र बच्चाको टाउको पनि पाठेघरमा अड्किएपछि महिलाको ज्यान जोखिममा रहेकाले उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत रिफर गरिएको हो ।”

अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई खबर गरेपछि नेपाली सेनाको एनए ९ को हेलिकप्टर बाजुरा पुगेर बडुवालको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताउनुभयो । 

उहाँले भन्नुभयो,“गर्भवती महिलाको अवस्था जटिल भएको र जिल्ला बाहिर सुत्केरी गराउन लैजानुपर्ने जानकारी गराएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो ।” यो भन्दा पहिला पनि हिमाली गाउँपालिका १ बिच्छ्याँकी २३ वर्षीया कल्पना रोकायाले बच्चा पाएर साल नआएपछि सेनाको हेलिप्टरमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।