अविनाश चौधरी
धनगढी, पुस २५ गते । कैलालीसहित तराईमा बढ्दै गएको चिसोका कारण जनजीवन प्रभावित भएको छ । जाडो बढेपछि मान्छेलाई दैनिक कामकाजदेखि लिएर बाहिर आवतजावत गर्न कठिनाइ भएको हो ।
आज बिहानबाट शीतलहरसहित अत्यधिक चिसो हावा चल्न थालेपछि चिसो झनै बढेको छ । चिसोका कारण बाहिर हिँडडुल गर्न समस्या हुने गरेको अटो चलाएर गुजारा गर्दै आउनुभएका धनगढीका विष्णु चौधरीले बताउनुभयो । अटो गुडाउँदा चिसो झन लाग्ने गरेकाले कामकाजमा समस्या भइरहेको उहाँले बताउनुभयो ।
जाडोका कारण स्कुल जाने बालबालिका, दैनिक ज्यालादारीमा घर बनाउने, सडक बनाउनेलगायतका काम गर्ने कामदारलाई समस्या भएको छ । यसैगरी, वृद्धवृद्धा अत्यधिक प्रभावित भएका छन् । चिसो बढेपछि जाडो छल्नका लागि मान्छेले ठाउँ ठाउँमा आगो बालेर तापिरहेको देख्न सकिन्छ ।
तराईका अधिकांश भूभागमा कुहिरो लागेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शीतलहरसँगै चिसो बढेकाले स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक रहेको भजनी नगरपालिकास्थित धनौरा आधारभूत स्वास्थ्य केन्द्र धनौराका प्रमुख लक्ष्मीप्रसाद जोशीले बताउनुभयो । कैलालीमा विगत केही दिनदेखि कुहिरो लागि छ । कुहिरोका कारण घामसमेत लाग्न सकिरहेको छैन । बिहानदेखि अपराह्नसम्मै बाक्लो कुहिरो लाग्दा चिसो बढ्दै गइरहेको छ ।