• २४ वैशाख २०८१, सोमबार

ओखलढुङ्गामा चार करोडको सुन्तला उत्पादन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, पुस २४ गते । ओखलढुङ्गामा यस वर्ष करिब चार करोड बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला खेती हुने जिल्लाको दुई सय ६७ हेक्टर क्षेत्रफलबाट करिब चार करोड सुन्तला उत्पादन भएको हो ।  

यस वर्ष ६६३ मेट्रिकटन करिब चार करोड बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हेम आलेले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन केही घटेको निमित्त प्रमुख आलेको भनाइ छ । 

गत वर्ष ८८५ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष २२२ टनले घटेर ६६३ मेट्रिक मात्रै उत्पादन भएको आलेले जानकारी दिनुभयो । यस वर्ष करिब २२ प्रतिशतले सुन्तलाको उत्पादन घटेको हो । फूल फुल्ने तथा फल लाग्ने सुरुवाती समयमा असिना पानीले क्षति पुर्‍याउँदा उत्पादन घटेको कार्यालयले जनाएको छ । 

यसका साथै जिल्लाको धेरै सुन्तला उत्पादन हुने मानेभञ्ज्याङको उदयपुर, उबुँ, वाक्सा, सिद्धिचरण नगरपालिकाको रुम्जाटार क्षेत्रमा पछिल्लो समय सुन्तलाको बोट सुक्दै गएकाले पनि उत्पादन घटेको कार्यालयले जनाएको छ । 

उत्पादन भएको सुन्तला स्थानीय बजारमै प्रति किलो ८० देखी १०० रुपियाँमा बिक्री वितरण हुँदै आएको छ । सुनकोशी गाउँपालिकाको कटुञ्जे, मोलुङ गाउँपालिकाको कुन्तादेवी, सिद्धिचरण नगरपालिकाको आँपस्वारा, नारायणस्थान, ज्यामिरे, सल्लेरी, बेतेनी र मानेभञ्ज्याङ र चिशंखुढी गाउँपालिकाको माथिल्लो भेगमा सुन्तला खेती गरिन्छ ।