• २२ असार २०८१, शनिबार

हात्ती धपाउन रातभर जाग्राम

blog

सोमबार बेलुका कचनकवलमा हात्तीले पुर्‍याएको क्षति ।

विष्णुप्रसाद पोखरेल

दमक, पुस २४ गते । कचनकवल गाउँपालिकाका स्थानीय हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार हात्तीले एक महिना अघिदेखि दु:ख दिएको छ र हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्ने गर्छन् । 

यस्तै, सोमबार राती कचनकवल ३ पाठामारीमा दुई वटा हात्तीले स्थानीय विष्णु गुरुङको घर भत्काएको छ । गुरुङको घरमा राखिएको धान तथा अन्नपात खाएर र छरेर पूर्ण रूपमा नष्ट गरेको भट्टराईले जानकारी दिनुभयो ।

"हात्तीले दिनहुँ दुख दिइरहेको विषयमा प्रदेश, सङ्घीय सरकार तथा यहाँबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई समेत यस विषयमा बारम्बार अवगत गराएका छौँ तर नियन्त्रणको प्रयास केही भएको छैन । अब केही विकल्प नभएपछि ज्यानको माया मारेर जाग्राम बस्नुपर्ने अवस्था छ", भट्टराईले भन्नुभयो ।

"दिनभर जलथलको तथा चारकोशे झाडिमा हात्ती बस्ने र रातको समयमा बस्तीमा आउँछ, केही महिना यता झापाका अधिकांश पालिकाहरूमा हात्तीको उपद्रो बढ्दै गएको छ," उहाँले थप्नुभयो ।