• १७ असार २०८१, सोमबार

छ सय २३ ई–रिक्सालाई कारबाही

blog

कमल खत्री

नेपालगन्ज, पुस २४ गते । ई–रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ ।

 नेपालगन्ज उप–महानगरपालिकाको नगर प्रहरीले ई–रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् । नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्साले नेपालगन्ज नगरपालिकाले पछिल्लो समय कारबाही गरिरहेको छ । 

जसअन्तर्गत आइतबार ३२ वटा ई–रिक्सालाई नियन्त्रणमा लिएको नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाले बताउनुभयो । 

नियन्त्रणमा लिइसकेपछि आवश्यक कागजात लिएर आएका १५ ई–रिक्सालाई छाडेको उहाँले बताउनुभयो । नेपालगन्ज नगरमा ई–रिक्साको सङ्ख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या देखिएको थियो । ई–रिक्सा चालकहरूमा ट्राफिक नियमको बारेमा जानकारी नहुँदा दुर्घटनाको सङ्ख्या पनि बढिरहेको थियो । 

ई–रिक्सा व्यवस्थापनमा चुनौती देखिएका बेला नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले व्यवस्थापनको कार्यविधि बनाएर काम गरेका थिए । 

नगरले ई–रिक्सा आवश्यक कागजात चेकजाँचमा कडाइ गरेपछि ई–रिक्सा चालकहरूले दर्ता गर्ने, चालक अनुमति पत्र लिने क्रम बढेको छ । गत मङ्सिर १९ गते देखि ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपालगन्ज नगर प्रहरीले ई–रिक्सा चेकजाँच गर्न सुरु गरेको थियो । त्यसयता नियमविपरीत चलिरहेका ६ सय २३ ई–रिक्सालाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक कागजात लिएर आएका ५ सय ३१ वटा रिक्सालाई कुनै पनि जरिवाना नगरी छोडिसकेको सहायक निरीक्षक कनोजियाले बताउनुभयो । कागजात बिना चलेका ९२ ई–रिक्सालाई नगर प्रहरीले अझ नियन्त्रणमा लिइरहेको उहाँले जानकारी गराउनुभयो ।