• १७ असार २०८१, सोमबार

विश्वमै अति दुर्लभ बैकाल गैरी चरा भेटियो

blog

नवलपुरको कावासोतीमा भेटिएको विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा । तस्बिर सौजन्य: मान चौधरी

होमराज रानाभाट

नवलपरासी, पुस २४ गते । विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारीघाट नजिकै नारायणी नदीमा फेला परेको छ । 

प्रकृति संरक्षणका लागी अन्तर्राष्ट्रिय सङ्घ (आईयूसीएन) ले समेत खतरामा परेका प्रजातिहरूको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नेचर गाइड मान चौधरीले शनिवार फेला पारेको जानकारी दिनुभयो ।

नेपालमा बैकल गैरी चरा ठुला नदी र तालहरूमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको  जलपंक्षी गणनाका पश्चिम सेक्टर संयोजक डीबी चौधरीले बताउनुभयो ।

जाडो मौसममा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको आँकलन गरिएको चौधरीको भनाइ छ । मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्यान्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यति बेला नारायणी नदी र आसपासको क्षेत्रमा आएका हुन्छन्  ।

यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा बढी आउने गरेका छन् भने जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चरा आउने भएपछि चरा गणना पनि गर्ने गरिन्छ ।