• १७ असार २०८१, सोमबार

सुकुमवासीलाई जग्गाधनी पुर्जा वितरण

blog

बर्दीबास समाचारदाता

बर्दीबास, पुस २४ गते । बर्दीबास नगरपालिकाले भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ । नगरपालिकाले वडा नं २ का ५३ जना भूमिहीन सुकुमवासीलाई प्रतिपरिवार एक कट्ठाका दरले सोमबार लालपुर्जा प्रदान गरेको हो । 

नगरपालिकाले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यमा बर्दीबासमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरेको हो । लालपुर्जा पाउनेमा भुजेल, मगर, परियार, विश्वकर्मा, झा, कर्णलगायत समुदायका परिवार रहेका छन् । 

लालपुर्जा पाएपछि भूमिहीनहरू खुसी भएका छन् ।  आफूले थाहा पाएदेखि नै अर्काको जग्गामा छाप्रो हालेर जीवन गुजारा गर्दै आएका ७५ वर्षीय दम्पती अमृत आले तथा सुकुमाया आलेले अहिले आफ्नै नाउँमा घरजग्गा प्राप्त हुँदा निकै खुसी लागेको बताउनुभयो । 

वडाध्यक्ष श्यामराजा सिंह ठकुरीका अनुसार २ नं वडाको खपाङ्गी टोल पूर्वका नदी उकास पाँच बिघा जग्गामध्ये सुकुमवासीलाई २८ नं कित्ता प्लटिङ गरी प्रतिपरिवार एक कट्ठाका दरले दुई बिघा १३ कट्ठा जग्गा बराबरको लालपुर्जा वितरण गरिएको हो । वितरण गरिएका सबै कित्तालाई व्यवस्थित गर्न नगरपालिकाले ३० फिट चौडा सडक सञ्जालले जोडेको छ । ती जग्गामा पानी र विद्युत् पु¥याउन पहल भइरहेको उहाँले बताउनुभयो । 

वडाध्यक्ष ठकुरीका अनुसार जग्गा वितरणका लागि सुरुमा ६० जनाको नाम पेस भएको थियो । छानबिन गर्दा पाँच जनाको नाममा जग्गा देखिएपछि ५५ जनालाई छनोट गरियो । त्यसमध्ये पनि अन्तिम अवस्थामा आएर दुई जनाको विवरण शङ्कास्पद देखिएपछि हाललाई ५३ जनालाई मात्र लालपुर्जा वितरण गरिएको वडाध्यक्ष सिंहले स्पष्ट पार्नुभयो । 

लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगले देशभर अभियान चलाएको जनाउनुभयो । उहाँले नगर क्षेत्रका भूमिहीनका समस्या समाधानका लागि बर्दीबास नगरपालिकाले गरेको यो सत्प्रयास अन्य पालिकाका लागिसमेत प्रेरक र अनुकरणीय भएको धारणा व्यक्त गर्नुभयो । उहाँँले भन्नुभयो, “लालपुर्जाले भूमिहीनको आत्मसम्मान वृद्धिका साथै आत्मनिर्भर हुन मद्दत पुग्ने छ ।” 

नगर प्रमुख प्रह्लाद क्षेत्रीले सार्वजनिक जग्गा संरक्षण तथा भूमिहीन सुकुमवासीलाई सम्पत्तिको स्वामित्व दिलाउने कार्यलाई बर्दीबास नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले नगर क्षेत्रका अन्य वडाका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जति सक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गरिने पनि बताउनुभयो ।