• १७ असार २०८१, सोमबार

जडीबुटीकै भरमा उपचार

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस २४ गते । सर्केगाड गाउँपालिका–१ स्थित छिडिनात्ता गाउँको सामुदायिक स्वास्थ्य एकाइ साउनयता बन्द रहेको छ । कर्णाली प्रदेश सरकारले यसअघि उपलब्ध गराउँदै आएको जनशक्तिको करार अवधि सकिएपछि स्वास्थ्य एकाइ बन्द थियो । 

छिडिनात्ता गाउँका स्थानीय जय कामीले सामुदायिक स्वास्थ्य एकाइ बन्द भएपछि बिरामी समस्यामा परेको बताउनुभयो । साउनअघि एकाइ सञ्चालनमा रहेका बेला बिरामीलाई सहज हुने गरे पनि त्यसयता स्थानीय जडीबुटी र धामीझाँक्रीको शरणमा पर्नुपर्ने बाध्यता बिरामीको छ । सामुदायिक स्वास्थ्य एकाइमा पालिकाले स्वास्थ्यकर्मी र औषधीको व्यवस्था नगरेपछि ताला लागेको हो । 

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई स्वास्थ्यकर्मी र औषधीको व्यवस्था गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको कामीले गुनासो गर्नुभयो । २०५ घरधुरी भएको छिडिनात्ताका स्थानीय बिरामी हुँदा औषधी उपचार गर्न पैदलै जैर स्वास्थ्य चौकीमा दुई घण्टा र निजी मेडिकल भएको बालुकुना तीर्थसैना पुग्न तीन घण्टाको समय खर्चिनु पर्छ । सामान्य रुघाखोकी, ज्वरो, टाउको दुख्दा पनि सामान्य सिटामोलसमेत पाउन मुस्किल भएको छ । साउनदेखि सामुदायिक स्वास्थ्य एकाइ बन्द भएपछि सिटामोल देख्न नपाएको स्थानीय काली कामीले बताउनुभयो । रुघाखोकी, ज्वरो, जटिल बिरामी भएपछि दुई घण्टा उकालो पैदल हिँडेर जैर स्वास्थ्यचौकी र बालुकुना, तीर्थसैना मेडिकलसम्म पुग्नुपर्ने उहाँको भनाइ छ । 

एम्बुलेन्सको भाडा निर्धारण

जिल्ला अस्पतालले सञ्चालनमा ल्याएको एम्बुलेन्सको भाडादर निर्धारण गरिएको छ । एम्बुलेन्स सञ्चालन समितिले एम्बुलेन्स सेवालाई दिगो सञ्चालन र मर्मतका लागि सेवा दिएबापत न्यूनतम भाडादर निर्धारण गरेको हो । 

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख सरिता बोहराले प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला अस्पतालसम्म माथिल्लो हुम्लाका तीन वटा नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा एम्बुलेन्सले सेवा दिएबापत न्यूनतम भाडा लिने निर्णय गरिएको बताउनुभयो । सङ्कलित भाडाबाट सेवालाई दिगो सञ्चालन गर्न र मर्मतका लागि कोषमा जम्मा गरिने छ ।

उहाँले शुक्रबार पहिलो दिन सिमकोट बजारबाट सेवा दिएबापत भाडा लिन सुरु गरिएको बताउनुभयो । अस्पतालदेखि सिमकोट बजारसम्म एक हजार रुपियाँ भाडा तय गरिएको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म तीन हजार छ सय, सिमकोट गाउँपालिकाका एक हजारदेखि पाँच हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ । त्यसै गरी नाम्खा गाउँपालिकाको हिल्सासम्म ३० हजार, लिमीका लागि ३२ हजार भाडा तोकिएको छ । 

यसरी भाडादर निर्धारण गर्दा दुरीलाई आधार मानिएको छ । केही समयअघि एम्बुलेन्सको चालक पनि नियुक्त गरिएको छ । भारतीय दूतावासबाट एक वर्षअगाडि सहयोग प्राप्त भएको सो एम्बुलेन्स गत असोजमा केरुङ नाकाबाट तिब्बती मार्ग हुँदै हिल्साबाट सिमकोट ल्याइएको थियो ।