• ७ जेठ २०८१, सोमबार

समीक्षक र कलाकार सम्मानित

blog

काठमाडौँ, पुस २४ गते ।  राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक  कलाकार सङ्घ (क्यान) को २९ औँ स्थापना दिवसका अवसरमा १५ जना कला समीक्षक र कलाकार सम्मानित एवं पुरस्कृत भएका छन् । 

सो सङ्घद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई सुरेन्द्र प्रधान दीर्घ कलासाधक पुरस्कार (२५ हजार रुपियाँ) सहित सम्मानित गरियो । क्रोधकला शिरोमणि पुरस्कारबाट सन्तकुमार शाक्यलाई २० हजार रुपियाँसहित र कलाकार प्रकाश थापा ‘प्रथा’ लाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको छ । 

त्यसै गरी मुल्मी ग्राफिक डिजाइन अवार्ड, हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कारबाट सुजनवीर वज्राचार्य, हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कारबाट लक्ष्मी न्यौपाने, क्यान आइडियल कला पुरस्कारबाट श्यामबहादुर श्रेष्ठलाई जनही १०/१० हजार रुपियाँसहित पुरस्कृत गरिएको छ  ।

सो अवसरमा निर्वाण कला सम्मानबाट गणेश लामा ‘आसु’, क्यान सिग्देल आर्ट पुरस्कारबाट श्रवण चौधरी र ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कारबाट लक्ष्मण भुजेल जनही १०/१० हजार रुपियाँ राशिसहित सम्मानपत्रद्वारा पुरस्कृत हुनुभएको छ । बालकृष्ण स्मृति कला पुरस्कारबाट महेन्द्र राई, नारायणदेवी स्मृति पुरस्कारबाट ज्ञानेन्द्र विवश, राजेश मानन्धर कार्टुन अवार्डबाट सानुराज डङ्गोल र ऋचा मैनाली  रिमाल स्मृति पुरस्कारबाट स्मिता मोक्तानलाई जनही पाँच/पाँच हजार रुपियाँसहित पुरस्कृत गरिएको छ । 

सो अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले कलाको माध्यमबाट सहरको सौन्दर्य बढाउनुपर्ने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले देशका थुप्रै सम्पदा क्षेत्रमा पर्यटनसँग लिइने शुल्क एवं सङ्ग्रहालय अवलोकन गरेर सङ्कलन भएको राजस्वको केही अंश कला र कलाकारको प्रवर्धनका लागि पनि लगानी गर्ने नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सङ्घका अध्यक्ष आइभी मल्लले कलामा व्यावसायिक वातावरणको प्रवर्धनसहित कलाकार र कला क्षेत्रको संवर्धनका लागि सङ्घ क्रियाशील रहेको बताउनुभयो । 

सङ्घको स्थापना दिवस र अरनिको स्मृति दिवसमा पुरस्कार एवं सम्मान कार्यक्रमका संयोजक रोशन श्रेष्ठले कलाको माध्यमबाट पर्यटन प्रवर्धन र कलामा व्यावसायिकताको विकासका लागि सङ्घमार्फत कलाकारलाई सङ्गठित र प्रोत्साहनका लागि विविध कलात्मक गतिविधि गरिरहेको जानकारी दिनुभयो ।