• १३ जेठ २०८१, आइतबार

प्रभावकारी भएन स्वास्थ्य बिमा कार्यक्रम

blog

उपचारको लागि जिल्ला अस्पताल धनकुटा आएका बिरामी ।

कबिराज घिमिरे 

हिले, पुस २३ गते । धनकुटामा हालसम्म ४२ हजार १ सय ८९ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । यो धनकुटाको कुल जनसङ्ख्याको २८ प्रतिशत हो । २०७८ सालको जनगणना अनुसार धनकुटाको कुल जनसङ्ख्या १ लाख ४९ हजार ९ सय ८४ छ । 

धनकुटामा अझै ७२ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमा पहुँच बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा तीन हजार पाँच सय रुपियाँ तिर्नुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्यको सात सय रुपियाँका दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । स्वास्थ्य बिमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले नै प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बिमा गरेको छ । सरकारले बिमामा आबद्ध पाँच जना सदस्यलाई वार्षिक एक लाख रुपियाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको छ ।

जनचेतना र गरिबीका कारण अझै पनि केही नागरिक स्वास्थ्य बिमामा आबद्ध हुन नसकेका हुन् । यसको महत्त्व धेरै भएपनि जानकारी नभएको तथा आर्थिक अभावको कारण गर्न नसकेको हुनसक्ने स्थानीय टङ्कबहादुर राईले बताउनुभयो । नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२-७३ देखि यो कार्यक्रम लागु भएको हो । धनकुटामा भने २०७७ सालदेखि स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य बिमा बोर्ड धनकुटा संयोजक नमिता खतिवडाले बताउनुभयो ।

धनकुटामा स्वास्थ्य बिमामा आबद्ध भएकालाई विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट स्वास्थ्य बिमाको सुविधा पाउने व्यवस्था गरिएको छ  । धनकुटा अस्पतालमा दैनिक एक सयदेखि १ सय ५० जना बिमित उपचार गराउन आउने गरेका छन् । बिमामार्फत सरकारी तथा सरकारले तोकिएका अस्पतालले औषधि बाहेकका सबै सेवा उपलब्ध गराउँदै आएको छ । तर, बिमा पोलिसि अनुसार सरकारले समयमै आवश्यक रकम उपलब्ध नगराउँदा पर्याप्त औषधि खरिद गर्न समस्या हुने गरेको छ । जसकारण बिमामा आबद्ध नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या हुने गरेको धनकुटाका अस्पतालका निमित्त प्रमुख अमिताभ ठाकुरको भनाइ छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सबै नागरिकको ५० प्रतिशत स्वास्थ्य बिमा रकम तिर्न थालेको छ त्यस्तै साँगुरीगढी गाउँपालिकाले दलित समुदाय र महिला स्वास्थ्य स्वयंसेवीकाहरुको स्वास्थ्य बिमा बिमा बापतको रकम तिर्ने गरेको छ ।