सिराज खान
नेपालगन्ज, पुस २३ गते । बर्दियास्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा सुन चालेर र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको पुर्ख्यौली पेसा सङ्कटमा छ । नेपालभर करिब दुई हजार मात्र जनसङ्ख्या रहेको सोनाहा जातिको पेसा सङ्कटमा पर्दै गइरहे पनि त्यसलाई जोगाउन कसैको चासो नदेखाएको उनीहरूको गुनासो छ ।
सोनाहा समाजका अध्यक्ष शान्ति सोनाहाले सोनाहा जातीको पेसा पछिल्लो समय सङ्कटमा पर्दै जाँदा छाक टार्न समेत समस्या हुन थालेको बताउनुभयो । उहाँले कर्णाली नदी र यसमा आधारित स्रोतहरू घट्नु र यी स्रोतहरूमा अन्य समुदायको पकड तथा सरकारी संयन्त्रको नियन्त्रणका कारण उनीहरूको पेसा सङ्कटमा परेको बताउनुभयो ।
अध्यक्ष शान्ति सोनाहाले थप्नुभयो, ‘‘सोनाहा जातीले गर्ने पेसा गैर सोनाहाले गर्न थालेपछि हामी पछि परेका छौँ, सोनाहा पुग्न नसक्ने ठाँउहरुमा गैर सोनाहा जातीहरू पुग्नुहुन्छ । हाम्रो माछा मार्ने तरिका विशुद्ध जाल खेल्ने हुन्छ । बम ब्लाष्ट गर्ने करेन्ट लगाउन र विषादी प्रयोग गर्न हाम्रो धर्मले दिँदैन । त्यसैले हाम्रो पेसा सङ्कटमा परेको छ ।’’
माछा मार्ने पेसा मात्र होइन सोनाहाको सुन चाल्ने पेसापनि सङ्कटमा परेको सो जातिका युवा अगुवा बालकृष्ण सोनाहाको भनाई छ । उहाँले बालुवा चालेर सुन खोज्ने र माछा मार्ने एवम् डुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि सदियौँ देखि चलिआएको पुर्ख्यौली पेसा सङ्कटमा परेको दुखेसो गर्नुभयो ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिब ७२९ जना सोनाहाको बसोबास रहेको छ । उनीहरूको माछा मार्ने र सुन चाल्ने दुवै पेसा सङ्कटमा परेको छ । सोनाहाका यी दुवै पुर्खौली पेसा सङ्कटमा परेपछि केही परिवारले भने वैकल्पिक पेसा गर्न थालेका छन् । कहिले गिटी बालुवा चाल्ने काम गरिरहेका छन् भने कहिले कपाल काट्ने काम सुरु गरेका छन् ।
गेरुवाका दुखाराम सोनाहाले पुर्ख्यौली पेसाबाट गुजारा गर्न समस्या भएपछि आफूले कपाल काट्ने पेसा अँगाल्नु परेको बताउनुभयो । उहाँले बाच्नै मुस्किल भएपछि पुर्ख्यौली पेसा भनेर बसिरहन नसकी परिवर्तन गर्न बाध्य भएको बताउनुभयो ।
सोनाहा लोपोन्मुख जाती भएर पनि नेपालको लोपोन्मुख जातीको सूचीमा सूचीकृत नहुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको उनीहरूको दुखेसो छ । सुन चालेर र माछा मारेर जीविका चलाउँदै आएको यो जातिको बसोबास खासगरी कञ्चनपुर कैलाली र बर्दिया लगायत पश्चिम तराईमा छ । सोनाहाको उद्गम थलोचाहिँ बर्दियास्थित कर्णाली नदिको तल्लो तटीय क्षेत्र नै हो ।
नेपालको लोपोन्मुख जाती मध्यको अति सङ्कटापन्न जाती सोनाहा हो । थारु समुदायजस्तो देखिने भए पनि आफ्नै भाषा, संस्कृति, रहनसहनमा रहेका सोनाहहरु पछिल्लो समयमा आएर गाँस–बाससँगै आफ्नो पहिचान जोगाउन सङ्घर्ष गरिरहेका छन् ।