• १३ असोज २०८१, आइतबार

शिवालयमा केन्द्रीय विद्युत् विस्तार

blog

जाजरकोट समाचारदाता

जाजरकोट, पुस २३ गते । शिवालय गाउँपालिकामा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ । सबै वडामा ट्रान्समिटर जडान भएपछि गाउँपालिकामा केन्द्रीय विद्युत् लाइन प्रसारण भएको हो ।

नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले दिएको जानकारी अनुसार चैतभित्रै गाउँपालिकाका सबै घरधुरीमा लाइन वितरण गरिसक्ने लक्ष्य छ । शिवालय वितरण शाखाका इन्चार्ज आनन्दकिशोर शाहका अनुसार शिवालय गाउँपालिका–१ का ७० प्रतिशत घरधुरीमा गत वर्ष नै लाइन वितरण भइसकेको छ । केही दिनअघि वडा नं. २ को नेपामा ५० केभीको ट्रान्समिटर जडान गरी चार सय घरधुरीमा लाइन वितरण गरिएको छ । 

सल्लाको झरो बालेर बस्नुपर्ने गाउँमा मटितेलको टुकी, सोलार हुँदै जलविद्युत्को लाइन विस्तार गरिएको छ । वडा नं. ९ मा ५० केभीको ट्रान्समिटर जडान गरी तीन सय घरधुरीमा लाइन वितरण गरिएको छ । वडा नं. ८ मा केही दिनभित्रै १५ केभीको ट्रान्समिटर जडान गरी लाइन वितरण गरिने तयारी भइरहेको शिवालय वितरण शाखाका मिटररिडर केशव दर्लामीले जानकारी दिनुभयो । उहाँले वडा नं. ४ र ६ बाहेकका सबै वडामा केन्द्रीय विद्युत् लाइन प्रसारण हुनुका साथै अन्यमा लाइन वितरणको काम भइरहेको जानकारी दिनुभयो ।

दैनिक आठ घण्टा लोडसेडिङ 

हुम्ला समाचारदाताका अनुसार हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय बढाएको छ । पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा लोडसेडिङ तालिका बढाइएको हो । 

वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले पानीको स्रोत कमीका कारण विद्युत् उत्पादन पनि कम भएपछि लोडसेडिङ तालिका बढाइएको जानकारी दिनुभयो । उहाँले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक आठ घण्टा लोडसेडिङ गर्नु परेको जानकारी दिनुभयो । यसअघि चारदेखि पाँच घण्टा लोडसेडिङ हुने गरेको थियो । पहिलेको हिउँ पग्लिसकेको र यस वर्ष हालसम्म हिमपात नभएका कारण पावर हाउसलाई आवश्यक पानीको स्रोत कम भएको बताइन्छ ।

पाँच सय किलोवाट विद्युत् उत्पादन क्षमता भएको पावर हाउसले हाल सामान्य र पिक आवरमा एक सयदेखि दुई सय किलोवाटसम्म मात्र विद्युत् उत्पादन हुने गरेको बताइन्छ । जब कि हाल सिमकोटमा एक मेगावाटभन्दा बढी विद्युत्को माग रहेको छ । व्यवसायी सुनमती सिंहले केन्द्रले लोडसेडिङ समय बढाएपछि उपभोक्ता मारमा परेको बताउनुभयो । 

लोडसेडिङ बढेपछि फर्निचर उद्योग बन्द भएका छन् । सेवाग्राहीले इलेक्ट्रोनिक्सका सामान प्रयोग गर्न छाडेका छन् । बिहान र बेलुकाको समयमा विद्युत् आपूर्ति नहुने भएका कारण सेवाग्राहीले दाउरा खपत भने बढाएका छन् । विद्युत्का तीन हजारभन्दा बढी ग्राहक रहेका बताइन्छ ।