• १४ असार २०८१, शुक्रबार

म्याग्दीमा दुई जनाको हत्या, एक घाइते

blog

सांकेतिक तस्बिर

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस २१ गते। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी ७० वर्षीया मनिषा गर्बुजा र उहाँकी नातिनी ७ वर्षीया प्रियंका गर्बुजाको ढुंगा र दाउराको चिर्पट प्राहरबाट हत्या भएको छ। आक्रमण गरेको देखेपछि जोगाउनका लागि प्रयास गर्दा छिमेकी ६६ वर्षीय अमृता जुगजाली घाइते हुनुभएको प्रहरीले जनाएको छ।

ढुंगाको छपनी तथा चिर्पट दाउराले प्रहार गर्दा ७० वर्षीय मनिषाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अशोक झाले जानकारी दिनुभयो। 

घाइते नातीनी र छिमेकीको दरवाङ आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगिएको थियो। नातिनी प्रियंकाको  पोखरामा उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो।

घरमा मनिषाका छोरा बुहारी नभएको र नानी नातिनी मात्रै रहेको समयमा एक्कासि आक्रमण भएको भए पनि नातिनीको उपचारको क्रममा मृत्यु भएको र एक जना नाती भने घर भित्रै लुकेर बचेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। 

हत्या र आक्रमणको आरोपमा स्थानीय बासिन्दाले एकजना पुरुषलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको भए पनि प्रहरीले आफ्नो नियन्त्रणमा रहेका व्यक्तिको पहिचान भने खुलाएको छैन। एकिन तथ्य पत्ता लागेपछि मात्रै यथार्थ घटना सार्वजनिक गर्ने प्रहरी निरीक्षक झाको भनाइ छ।