• १२ असोज २०८१, शनिबार

बङ्गलादेशमा निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी दलद्वारा ४८ घण्टे आमहड्तालको घोषणा

blog

ढाका, पुस २१ गते । बङ्गलादेशमा आगामी जनवरी ७ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।

पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बीएनपीले आइतबार हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैर–दलीय तटस्थ सरकार गठनको वकालत गरिरहेको छ, जुन मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गरेको छ ।

ढाका ट्रिब्युनका अनुसार शनिबार बीएनपीले देशभर जुलुस निकाल्ने, जनअभियान चलाउने र ‘प्रतिपक्षीहरूलाई बाहिर राखी गरिन लाएको’ निर्वाचनको विरोधमा पर्चा वितरण गर्नेछ ।

हडतालको दोस्रो दिन आइतबार हुने निर्वाचनले यस पहिले नै विश्वव्यापीरूपमा ध्यान आकर्षण गरिसकेको छ । बिएनपीका संयुक्त वरिष्ठ महासचिव रुहुल कबिर रिजवीले बिहीबार दिउँसो भर्चुअलमाध्यममार्फत गरेको पत्रकार सम्मेलनमा राष्ट्रव्यापी हडतालको घोषणा गर्नुभएको थियो ।

उहाँका अनुसार शनिबार बिहान ६ बजेदेखि सुरु हुने हडताल सोमबार बिहान ६ बजेसम्म चल्नेछ । यसैबीच, बिएनपीले घोषणा गरेको आन्दोलनप्रति बङ्गलादेशका अन्य केही प्रमुख विपक्षी दलले पनि प्रतिवद्धता जनाएका छन् ।

बिएनपीले सरकारको राजीनामा, अक्टोबरको अन्त्यदेखि पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाई र पार्टी प्रमुख खालिदा जियाको बिनाशर्त रिहाइको माग गरेको छ । रिजवीको घोषणालगत्तै लिबरल डेमोक्र्याटिक पार्टीले पनि शनिबार बिहान ६ बजेदेखि ४८ घण्टा हडताल गर्ने बताएको ढाका ट्रिब्यूनले जनाएको छ ।

बीएनपी र सरकारविद्धको आन्दोलनमा समान धारणा राख्ने दलहरूले अक्टोबर २९ देखि गरेको यो पाँचौं हडताल हो । विपक्षी दलहरूले यस अवधिमा १२ चरणमा २३ दिनसम्म देशव्यापी विरोधका कार्यक्रम गरेका छन् । रासस/एएनआई