• १४ असार २०८१, शुक्रबार

सञ्चालक इमान्दार भए सहकारी सङ्कटमा पर्दैन : गुठी संस्थानका कार्यकारी प्रमुख

blog

ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लि।को १५औं वार्षिक साधारण सभामा सहभागीहरु ।

काठमाडौं, पुस २१ गते । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरुले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरु सङ्कटमा नपर्ने बताउनु भएको छ ।

ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै कार्यकारी प्रमुख शाक्यले सो कुरा बताउनु भएको हो ।

उहाँले नेपालमा सङ्कटग्रस्त देखिएका सहकारी संस्थाहरुबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । सञ्चालक इमान्दार हुने हो भने कुनै पनि सहकारी संस्था सङ्कटमा नपर्ने प्रमुख अतिथि शाक्यको धारणा थियो ।

ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्था मार्फत् डुबेको जनताको रकम फिर्ता गराउन सरकारलाई गम्भीरता देखाउन आग्रह गर्नुभयो ।


कार्यक्रममा होम बचतका सञ्चालक सदस्य सञ्जयलाल अमात्यलाई प्रमुख अतिथि शाक्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यस्तै, उपाध्यक्ष दिनेश मास्केलाई पनि सम्मान गरिनुका साथै कर्मचारी लुमन्ती महर्जनलाई कदर–पत्र प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा आशा लिम्बुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

होम सहकारीका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदी, उपाध्यक्ष दिनेश मास्के, ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जीवि पौडेल, संस्थाका सचिव सोभना थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो  ।

साधारण सभाले व्यवस्थापक करुणा राजभण्डारीले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मुकुन्द महर्जनले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।