• १४ असार २०८१, शुक्रबार

हेटौँडा उपमहानगरको १४ औँ अधिवेशन : बजेटको आकार बढ्यो

blog

हेटौँडा उपमहानगरपालिकाको हेटौँडा १८ मा भएको १४ अधिवेशन । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, पुस २१ गते । 
हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको बजेटको आकार बढेको छ । उपमहानगरको १४ औँ अधिवेशनले उपमहानगरको १३ औँ नगर सभाले पारित गरेको बजेटमा वृद्धि गरी पारित गरेको हो ।

उपमहानगरको हेटौँडा १८ स्थित गुम्बाडाँडामा शनिबार भएको १४ औँ अधिवेशनमा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले चालु आवको संशोधित थप राजस्व प्रक्षेपणको आधारमा थप श्रोत परिचालन गरिँदा चालु आवका बजेटको आधार बढेको बताउनुभयो ।

गत असरमा भएको नगर सभाले चालु आवका लागि दुई अर्ब ६८ करोड ६० लाख १० हजार आठ सय रुपियाँको बजेट पारित गरेकोमा शनिबार भएको अधिवेशनले वृद्धि गरी दुई अर्ब ९०  करोड ६२ लाख ६५ हजार रुपियाँ बराबरको बजेट स्वीकृत गरेको छ ।

उपप्रमुख बानियाँले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकासँग भगिनी सम्बन्ध कायम भएको जानकारी दिँदै चीनको युनान प्रान्तअन्तर्गतको नगरसँग भगिनी सम्बन्ध स्थापनाका लागि पहल भइरहेको बताउनुभयो ।

नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको अधिवेशनले हेटौँडा उपमहानगरपालिकाको वन विधेयक २०८०, हेटौँडा उपमहानगरपालिका सङ्घ संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक २०८० सहितका विधेयकहरू स्वीकृत गरेको छ । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समीक्षासहित संशोधित बजेट तथा कार्यक्रममाथि छलफल गरी अधिवेशनले पारित गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो  ।