• १२ असोज २०८१, शनिबार

लाखौँ खर्चेर बनाइएको पार्क प्रयोगविहीन

blog

तम्घासमा रहेको प्रयोगविहीन थ्रिडी पार्क । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस २१ गते । गुल्मीमा ६० लाखको लगानीमा निर्माण भएको थ्रिडी पार्क प्रयोगविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीको अगाडि रहेको पार्क प्रयोगविहीन बनेको हो । 

पार्क निर्माण भएको तीन वर्षसम्म पनि पार्कको प्रयोगमा नआउँदा सरकारी लगानी, बालुवामा पानी सरह बन्न पुगेको छ । रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०–५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण भएको तीन वर्ष हुँदा समेत प्रयोगविहीन बनेको छ । 

पार्क प्रयोगविहीन हुँदा संरचनाहरू बिग्रिएर पछि नगरपालिकाले थप पाँच लाख रकममा संरचना मर्मत गरेको थियो । पार्कको संरचना अहिले भत्किदैगएको छ । 

पार्क प्रयोगविहीन हुँदा र पार्कका संरचनामा तोडफोड हुँदा समेत मर्मतमा नगरपालिकाको ध्यान गएको छैन । पहिले  लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचान अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु  र संरक्षणमा ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताउनुभयो । 

विभिन्न सङ्घसंस्था, सङ्गठन र दलहरूले सरकारको अगाडि उभिएर सरकारलाई खबरदारी गर्ने वर्षौँको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटङ्की गरिएको आरोप पाण्डेले लगाउनुभयो । 

रेसुङगा नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीले पार्क सञ्चालनको जिम्मा निजी क्षेत्र वा व्यक्तिलाई दिनेगरी तयारी गरेको बताउनुभयो । पार्कको अहिलेको अवस्था देख्दा आफूहरूलाई पनि दुःख लागेको बताउँदै उहाँले केही समय भित्र पार्क सञ्चालनमा ल्याउने बताउनुभयो ।