• १२ असोज २०८१, शनिबार

प्रतिफल आउने क्षेत्रमा राज्यले खर्च गर्छ : अर्थमन्त्री महत

blog

उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर :शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, पुस २१ गते ।
 अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै उहाँले बताउनुभएको हो ।

उहाँले अब उत्पादनमा सरकारको ध्यान जानेमा जोड दिनु भयो । मन्त्री महतले भन्नुभयो, ‘‘उत्पादन हुने उद्योग व्यवसाय गर्न लगाउने वातावरण बनाउने छौँ । यहाँ धेरै अवसर छन् । आइटी, टुरिजम, नयाँ व्यवसाय गर्नका लागि सरकारको योजना छ ।’’

अर्थमन्त्री महतले अर्थतन्त्र लयमा आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले भन्दैमा हुँदैन हाम्रा तथ्याङ्कले सुधार उन्मुख देखाएको छ । अर्थतन्त्र खतम भयो भनेर विदेश जान खोज्नेहरूले सोचे हुन्छ अब सुधार हुदैछ ।’’

‘‘अर्थतन्त्रमा सुधारको सकारात्मक प्रभाव पर्यटनको क्षेत्रमा देखिएको छ । नेपाल घुम्न आउने बाहिरका पर्यटक धेरै भित्रेको तथ्याङ्कले देखाएको छ । हल्ला र प्रचारको पछाडि नलाग्न अनुरोध गर्दछु ।,’’ अर्थमन्त्री महतले भन्नुभयो ।

सामाजिक सञ्जालमा आएको गलत हल्लाको पछाडि नलाग्न अनुरोध गर्नुहुँदै मन्त्री महतले भन्नुभयो, ‘‘ आउने दिन अत्यन्त राम्रो हुँदैछ । अर्थतन्त्रले देखाउने छ ।’’

‘‘देशमा अर्थतन्त्र समस्यामा थियो । अझै धेरै कुरा गर्न बाँकी छ । बिग्रदोबाट सुधार हुँदैछ । खतम भएको छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘मूल्य वृद्धि घट्दो क्रममा छ । हचुवाको भरमा बोल्न हुँदैन । उद्योग व्यवसाय अहिले घाटामा छ । कोभिडको समयमा समस्या थियो । शेयर मार्केट र जग्गामा लगानी गर्‍यौँ ।’’

कोभिडको समयमा जग्गा र शेयर मार्केटमा लगानी गरेकाहरूको पैसा डुबेको छ उहाँ बताउनुहुन्छ । मन्त्री महतले कोभिडको समयमा अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएका कारण शेयर मार्केट र जग्गामा लगानी गर्नुपरेको बताउनुभयो ।


‘‘यो अस्वाभाविक वृद्धि भएको थियो । त्यसलाई सच्चाउने नाममा ब्याजदर वृद्धि भयो । यसैले समस्या भएको हो । तत्कालीन समयमा हचुवाको भरमा ऋण लिएकाले समस्या आएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘ मौद्रिक नीति कडा ल्याएको हो । यसले केही असजिलो बनाएकै हो । हामीले सच्याउन लगाएका छौ । केही राहत आएकै छ । ब्याजदर घटेको छ । अब बिस्तारै जग्गाको कारोबार वृद्धि भएको छ । अर्थतन्त्रको सुधारकै कारण शेयर मार्केटमा सुधार आएको छ ।’’

उहाँले माघ महिना भित्र ठेकेदारको पैसा राज्यले दिने पनि बताउनुभयो । सरकार पुँजीगत खर्च वृद्धि गर्ने योजनामा रहेको जानकारी उहाँले दिनुभयो ।

अर्थमन्त्री महतले वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘लगानी सम्मेलनको तयारीमा सरकार लागेको छ । नेपाली, विदेशी र एनअरएनलाई लगानी गर्न सक्ने वातावरण बनाउनेछौँ ।’’

सरकारको कार्यशैली प्रति आएको टिप्पणी प्रति लक्षित गर्नुहुँदै उहाँले भन्नुभयो,‘‘काम गर्नेको पछि लाग्नु पर्दछ । झुटो बोल्नेहरूको पछि लाग्न हुँदैन । नियोजित तरिकाले प्रचार गरेर सत्यलाई छेक्न खोजिएको छ । तर सत्य डगमगाउँदैन ।’’

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले बैङ्कको ऋणको ब्याजदर घट्दै गएको बताउनुभयो । उहाँले अर्थतन्त्र लयमा फर्कन लागेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘‘हामीले सकारात्मक सोच राख्नु पर्दछ । खतम भयो बरबाद भयो भनेर नेगेटिभ मात्र सोचिराख्यौँ भने राम्रो हुँदैन ।’’

साथै उहाँ भन्नुभयो, ‘‘विद्युत महसुलको विवादलाई छिट्टो समाधान गर्नुपर्छ । विद्युत कटौती हुँदा उत्पादनमा समस्या आउँछ । यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।’’