• १४ असार २०८१, शुक्रबार

जलआश्रित पन्छीको गणना सुरु

blog

कपिलवस्तुको जगदीशपुर चरा आरक्षमा बसाइसराइ गरी आएका आगन्तुक चराहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस २१ गते । सिमसार क्षेत्र तथा तालतलैयामा आश्रित स्थानीय र आगन्तुक चराहरुको गणना सुरु गरिएको छ । नेपालमा विभिन्न स्थानमा रहेका ती चराको अवस्था पत्ता लगाउने, गणना गर्ने काम शनिबारबाट सञ्चालनमा आएको छ । 

चरा संरक्षणमा समुदाय र सरोकारवाला सरकारी तथा गैर सरकारी निकायलाई सहभागी बना सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्षको जनवरी महिनामा जलपन्छीहरुको अनुगमन र गणना गर्ने गरिन्छ । 

गणना कार्यक्रममा स्वयंसेवक, पन्छीविज्ञ, स्थानीय संरक्षणकर्मी, सरोकारवाला निकाय, पत्रकार र संरक्षण सङ्घ संस्थाको सहभागिता हुन्छ । यस वर्ष (सन २०२४) को गणना पुस २१ देखि माघ ७ गते सम्म चल्नेछ । विश्वभरिसँगै नेपालका विभिन्न तालतलैया र नदीका भागमा जलपन्छीहरुको गणना गरिने नेपाल पन्छी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले बताउनुभयो । सङ्घको नेतृत्वमा हुने गणनामा ३ सय बढी स्वयंसेवकको सहभागिता रहनेछ ।  

उत्तरी ध्रुवमा हिमपात भएसँगै नेपालमा १ सय ५० भन्दा बढी प्रजातिका चरा आउने गर्दछन् । हिउँद यामको सुरुवातसँगै जाडो छल्न विदेशी चरा बसाइँ सर्ने गर्दछन् । तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा विदेशी चरा आउनेगरेका छन् । नेपालमा ३७ स्थानलाई चराको महत्वपूर्ण क्षेत्र मानिएको छ । जहाँ हजारौँको सङ्ख्यामा चराले आश्रय लिने गरेका छन् ।  

रुस, किर्गिस्तान, तुर्मेकिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलिया, युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट आगन्तुक चरा आउने नेपाल पन्छी संरक्षण सङ्घका कार्यक्रम अधिकृत भूपाल नेपालीले बताउनुभयो । नेपालमा १९८७ देखि चरा गणना सुरु गरिएको थियो । 

चरा गणना गर्दा धेरै चरा भएका क्षेत्रमा ग्रिड बनाएर क्यामरा, टेलिस्कोप, बाइनाकुलरको प्रयोग तथा प्रत्यक्ष अवलोकन गरी चरा गणना गरिन्छ ।