• ११ मंसिर २०८१, मङ्गलबार

विद्यार्थीलाई रात्रिकालीन कक्षा

blog

बडिमालिका माध्यमिक विद्यालयमा रात्रिकालीन कक्षामा अध्ययन गदै विद्यार्थी तस्बिर: प्रेमराज

प्रेमराज सिम्खडा  

कालिकोट, पुस २१ गते । शैक्षिक गुणस्तर सुधारका लागि पछिल्लो समय सामुदायिक विद्यालय सक्रिय भएको देखिन थालेको छ । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेको कालिकोटको दोस्रो माध्यमिक विद्यालय बडिमालिका माध्यमिक विद्यालयमा अहिले रात्रिकालीन कक्षा सञ्चालन हुँदै आएको छ । 

विद्यार्थीको पढाइमा सुधार ल्याउन र आगामी एसइई परीक्षामा राम्रो नतिजा ल्याउनका लागि विद्यार्थीलाई छात्रबासमा राखेर रात्रिकालीन पढाई सुरु गरिएको विद्यालयले जनाएको छ । बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले शैक्षिक सुधारका लागि यो प्रयास गरिएको बताउनुभयो । उहाँले सरकारी विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्नका लागि भर्ना अभियानमा देखाएको सक्रियताले राम्रो नतिजा दिएको भन्दै अब पढाइमा सुधार ल्याउन रात्रिकालीन कक्षा सञ्चालन गरिएको बताउनुभयो । 

विद्यार्थीमा पढ्ने बानीको विकास गराउन विद्यालयले रात्रिकालीन पढाई कक्षा सुरु गरेको प्रअ बरालको भनाई छ । आगामी चैतमा हुने एसइई परीक्षाको तयारीका लागि विद्यार्थी सदरमुकाम लगायत सहरमा जाने यता विद्यालयको कक्षा दश कक्षा कोठा पुरै खाली हुने भएकाले विद्यालयका सबै शिक्षकहरूको सल्लाहमा रात्रिकालीन कक्षा पनि सञ्चालन गर्ने सहमति भएको हो । बाहिर जाँदा विद्यार्थीलाई पनि निकै दुख हुने र साथै खर्च पछि बढ्ने भएकाले विद्यालयले सुरु गरेको रात्रिकालीन कक्षा राम्रो भएको अभिभावकको भनाई छ । 

रास्कोट नगरपालिका वडा नं १ का जयबहादुर शाहीले यसरी पहिला देखि विद्यार्थीलाई विद्यालयको हातामा राखेर कक्षा सञ्चालन गरेको भए नतिजा पनि राम्रो आउने र शैक्षिक गुणस्तरमा पनि राम्रो सुधार हुने बताउनुभयो । उहाँले ढिलै भए पनि विद्यालय प्रशासनले सुरु गरेको योजना उदाहरणीय भएको भन्दै अरू विद्यालयले पनि सिको गर्नु पर्ने बताउनुभयो । विद्यालयका शिक्षक कृष्णप्रसाद बरालले सबै शिक्षकहरू केही गरौँ भन्ने मनसायका र प्रअ पनि नयाँ कामले शिक्षामा केही सुधार ल्याउँछ भन्ने मनोविज्ञानका भएकाले रात्रिकालीन कक्षा सञ्चालन गर्न सहज भएको बताउनुभयो । 

कालिकोट जिल्लाको पहिलो माध्यमिक विद्यालय बडिमालीका माध्यमिक विद्यालय रास्कोट हो । बडिमालिका माध्यमिक विद्यालयमा २०५२ साल उता एसएलसि परीक्षा केन्द्र समेत हुने गरेको थियो । पछि मुलुकमा चलेको आन्तरिक गृहयुद्ध लगायत कारणले परीक्षा केन्द्र सदरमुकाम मान्म सारिएको थियो भने अहिले यहाँ परीक्षा केन्द्र पनि रहेको छ । यस विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाई भइरहेको छ ।