• १५ मंसिर २०८१, शनिबार

केन्द्रीय समिति सानो बनाउन प्रस्ताव

blog

काठमाडौँ, पुस २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले १५० सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । विधानमा २९९ जना केन्द्रीय सदस्य भनिए पनि हाल ४११ पुर्‍याएकोमा चौतर्फी आलोचना भएपछि केन्द्रीय समिति चुस्त र कामकाजी बनाउन १५० जनाको प्रस्ताव गरेको समितिले जनाएको छ ।

अन्तिम चरणमा पुगेको विधान मस्यौदालाई समितिले पुस २१ गते स्थायी समितिमा पेस गर्दै छ । समितिले विभागमा रहने सदस्यको सङ्ख्या पनि घटाएर बढीमा १५ सदस्य प्रस्ताव गरेको छ । समितिका सदस्य गणेश साहले केन्द्रीय समिति र विभागहरू चुस्त राख्ने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो । 

जिल्ला र प्रदेश समितिलाई कार्यकारी बनाउने र जनवर्गीय सङ्गठनलाई स्वायत्तता दिने प्रस्ताव भएको छ । “प्रदेश जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउने जनवर्गीय सङ्गठनलाई स्वायत्त बनाउने तर उनीहरूको विधान पार्टीले अनुमोदन गर्ने प्रस्ताव भएको छ । विभागहरूमा विज्ञ सदस्य राख्नुपर्ने प्रस्ताव छ,” सदस्य साहले भन्नुभयो । उहाँले प्रस्तावित केन्द्रीय समिति अनुसार प्रदेश, जिल्ला, पालिका र वडा  समिति पनि सानो बनाउनुपर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । मस्यौदामा अध्यक्षात्मक बहुपदीय प्रणालीलाई यथावत् राखिएको छ । केन्द्रीय सदस्य सङ्ख्याको एकतिहाइ केन्द्रीय  पदाधिकारी रहने छन् । 

माओवादीले फागुनमा विधान अधिवेशन गर्दै छ । “पुस २१ गते हामीले बुझाउँछौँ, स्थायी समितिले अनुमोदन गरेपछि जिल्ला तहमा छलफलका लागि पठाउने हो,” सदस्य साहले भन्नुभयो । पुस ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।