• ६ जेठ २०८१, आइतबार

हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने

blog

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ । फाइल तस्बिर

पाटन, पुस १९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज ललितपुरमा आयोजित सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्यमी-व्यवसायीलाई राज्यले संरक्षण गर्ने बताउनुभएको हो । “हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध छौँ,” व्यवसायीका समस्या समाधानका निम्ति आवश्यक कानुन तर्जुमा गर्ने बताउँदै उहाँले भन्नुभयो । 

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले व्यवसायीहरूबिच आपसी समन्वय, सहकार्य र एकता कायम गर्नु अपरिहार्य भएको बताउनुभयो । उहाँले सबै व्यवसायमा कानुनी अड्चन र करका समस्या समाधानमा राज्यले सघाउनुपर्नेमा जोड दिनुभयो । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले क्याटरिङ व्यवसायलाई सेवामूलक व्यवसायका रूपमा अगाडि बनाउन कानुनीतहबाटै सहयोग हुनुपर्ने बताउनुभयो । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घ, ललितपुरका अध्यक्ष हिमकिशोर राईले सामाजिक सुधार ऐन, २०३३ अव्यवहारिक भएको र त्यसलाई खारेज गर्न माग गर्नुभयो । रासस