• २ जेठ २०८२, शुक्रबार

नेपालको पर्यटन क्षेत्रले चीन र भारतसँग प्रतिस्पर्धा गर्न सक्छ : वर्षमान पुन

blog

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुन ।

काठमाडौं, पुस १९ गते। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताउनुभएको छ। 

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटक आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताउनुभएको हो। 

उहाँले भारतबाट वार्षिक पाँच करोड र चीनबाट वार्षिक १० करोड पर्यटक बाहिरिने गरेको भन्दै ती पर्यटक नेपालले तान्न सक्नुपर्ने बताउनुभयो। उहाँले नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको बताउनुभयो।

उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमा नाकाका होटल वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताउनुभयो। उहाँले भारतसँगका सीमाना नजिकमा क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने बताउनुभयो।