• ६ जेठ २०८१, आइतबार

देवघाटमा मोटरबोट सञ्चालन

blog

मोटरबोट । फाइल तस्बिर

भरतपुर (चितवन), पुस १९ गते । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभीषण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरबोट छोटो र लामो दूरीमा चलाइएको छ । छोटो दूरीमा देवघाटधामको वेणिसङ्गमबाठ नागकुण्ड, सूर्यकुण्ड, झोलुङ्गे पुल हुँदै तपोवनसम्म मोटरबोटको यात्रा गर्न सकिने छ । 

छोटो दूरीको शुल्क दुई सय ५० तोकिएको छ । यस्तै लामो दूरीमा झण्डै आठ किलोमिटरको यात्रा गराइने छ । वेणिसङ्गमबाट गैँडाकोटको नरसिंह दिव्यधामसम्म लामो दूरीको यात्रा गराइने उहाँले बताउनुभयो । लामो दूरीको शुल्क निर्धारणको क्रममा रहेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाबाट स्वीकृति लिएर मोटरबोट सञ्चालन गरिएको शर्माले जानकारी दिनुभयो । मोटरबोटको क्षमता १० जनाको छ । 

देवघाटमा चितवनबाट तनहुँतर्फ आवतजावतका लागि डुङ्गा नियमित सञ्चालनामा छन् । जलयात्रामा मनोरञ्जन लिन चाहने धार्मिक पर्यटकलाई केन्द्रित गरेर मोटरबोट सञ्चालन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताउनुभयो । उहाँले मोटरबोट सञ्चालनपछि देवघाटमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मोटरबोटले मौलाकालिका र देवघाटधामलाई जोड्ने पुलको काम गर्ने उहाँको भनाइ छ । देवघाटधाममा दैनिक सयौँ भक्तजन दर्शन र स्नानका लागि आउने गर्छन् । रासस