• २ जेठ २०८२, शुक्रबार

सत्तापक्ष र विपक्षी नरहने अवस्था आउनु दुःखद : नेता महर

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर । फाइल तस्बिर

काठमाडौं, पुस १९ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुःखद भएको बताउनुभएको छ। 

काठमाडौंमा भ्रातृसंस्थाका नेतासँगको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दल भाग दिने पक्षमा सकारात्मक हुनु दुःखद भएको बताउनुभएको हो। 

बुधबार दिउँसो बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा मिलेर जान प्रस्ताव राखेको सुनाउनुभएको थियो। प्रधानमन्त्रीको उक्त प्रस्तावसँगै कुर्सी प्राप्तिका लागि मुलुकमा प्रमुख प्रतिपक्षी नै नरहने अवस्था सिर्जना हुन खोजेको भन्दै महरले चिन्ता व्यक्त गर्नुभएको हो।

महरले अहिले नेतामा दोधारे चरित्र देखिन खोजेको आरोप लगाउनुभयो। विकास, समृद्धि र सुशासनका लागि नेता एक ठाउँमा आउनु स्वागतयोग्य कुरा हो। तर, विकास र समृद्धिमा सधै नेताहरूमा मतभेद पाइन्छ। कुर्सी र सत्ताप्राप्तिका लागि जस्तोसुकै सम्झौता गर्न राजनीतिक दल पछि हट्दैनन्। यो लोकतन्त्रका लागि लज्जाको विषय हो। ‘‘जनभावना विपरीतको विषय हो। अझ भन्दा यो दुराशययुक्त विषय हो’’, महरले भन्नुभयो।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले नै सत्तासँग बार्गेनिङ गरेपछि नेता महरले यस्तो बताउनुभएको हो। 

चुनावमा गठबन्धन गरेर जाने सत्तारुढ दलले निर्णय गरेपछि एमाले नेताहरूको अस्वाभाविक दौडधुप बढ्नु र सत्ता गठबन्धनका नेताहरूले पनि अनावश्यक छलफल गर्नु लोकतन्त्रको मर्म विपरीत भएको उहाँको भनाइ छ। ‘‘एमालेको प्रस्तावमा सत्ता गठबन्धनले अनावश्यक छलफललाई सघन बनाउनुको कारण के होला ? आरामदायी बहुमत रहेको गठबन्धन लोकतन्त्रको मर्म अनुरुप चल्नुपर्छ’’, महरले भन्नुभयो। 

फागुन २० गतेबाट रिक्त हुने २० पदमध्ये १९ पदमा निर्वाचन हुँदैछ। एक सिट राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ।