• २८ वैशाख २०८२, आइतबार

बढी भाडा लिने शववाहन कारबाहीमा

blog

फाइल तस्बिर ।

नवराज श्रेष्ठ

रामेछाप, पुस १९ गते । रामेछापमा तोकिएभन्दा दोब्बर बढी भाडा असुल्ने शव वाहन कारबाहीमा परेको छ । जिल्लाको रामेछाप नगरपालिकाद्वारा सञ्चालित शव वाहन चाकले पीडितसँग तोकिएभन्दा बढी भाडा लिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले कारबाही गरेको हो । 

पीडितले बढी भाडा लिएको उजुरी दिएपछि ट्राफिक प्रहरी कार्यालय रामेछापले मङ्गलबार चालक राजकुमार कार्कीलाई कारबाही गर्दै बढी भाडा  फिर्ता गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, "रामेछाप नगरपालिकाको बा २ झ ४४२२ नम्बरको शव वाहनले मन्थलीबाट काठमाडौंसम्मको भाडा १३ हजार ९०० सय हुनुपर्नेमा २२ हजार ८०० रुपियाँ भाडा लिएको उजुरी आयो । प्रहरीले चालक र पीडित पक्षलाई कार्यालयमा उपस्थित गराएर छलफल गर्दा आठ हजार ९०० बढी भाडा लिएको पाइएको हो। बढी भाडा फिर्ता गराई बढी भाडा लिने शव वाहनलाई एक हजार रुपियाँ जरिवाना काटिएको छ ।"

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार जिल्लामा पाँच महिनाको अवधिमा तीन हजार ५०० भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८०-०८१ को साउनदेखि मङ्सिर महिनासम्म ट्राफिक नियम विपरीत सञ्चालन भएका साना तथा ठुला गरी तीन हजार ७५६ वटा सवारीलाई कारबाहीमा परेका छन् । 

पाँच महिनाको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी कारबाहीबाट ३२ लाख ८३ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप प्रमुख चौलागाईंले बताउनुभयो । यो अवधिमा जिल्लामा १५ वटा सडक दुर्घटना भएको र दुर्घटनामा परी एक जनाको ज्यान गएको उहाँले बताउनुभयो ।