• १४ असार २०८१, शुक्रबार

रातु नदी उत्खननमा विमति

blog

रवीन्द्र उप्रेती 

बर्दीबास, पुस १९ गते । रातु नदी ठेक्काको विषयलाई लिएर विरोध, बहस र विवाद चलिरहेको बेला बर्दीबास नगरपालिकाले उत्खनन क्षेत्रको अनुगमन गरेको छ । नगर प्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नगरपालिकाका प्राविधिक, सञ्चारकर्मी एवं सर्वसाधारण सम्मिलित टोलीले उत्खनन क्षेत्रको बुधबार संयुक्त अनुगमन गरेको हो । 

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि रातु नदीकोे चार वटा प्याकेज करिब छ करोड ४३ लाख रुपियाँमा रातु ठेक्का बन्दोबस्ती गरेदेखि विरोध भएको छ । प्रमुख कार्यकारी अधिकृत तिवारीका अनुसार ब्रिक कन्सलटेन्ट कुपनडोलको आइइई प्रतिवेदन अनुसार नदीको दुवै किनाराबाट ५०–५० मिटर छाडी त्यसबिच तीन फिट गहिराइमा करिब दुई लाख ९४ हजार घनमिटर उत्खननको ठेक्का लागाइएको हो । रातु नदी उत्खनन सम्बन्धमा राजनीतिक दल, तटवर्ती गाउँका जनता तथा जिल्ला अनुगमन समितिसमेत गरी तीनथरीका विमति देखा परेका छन् । नगर क्षेत्रका आठ राजनीतिक दलले नदी उत्खननले वातावरणीय समस्या विकराल बन्दै गएको जनाउँदै उत्खनन र अनियन्त्रित व्रmसरलाई तत्काल रोक्न नगरपालिकासँग माग गर्दै आएका छन् । 

अर्कोतर्फ खोलाको उच्च जोखिममा रहेको बर्दीबासको दक्षिणवर्ती वडा नं–९, पशुपतिनगरका स्थानीयले भने रातु नदी प्रणालीका दुखान्त कथा व्यथा सुनाउँदै खोला तीन फिटभन्दा बढी गहिराइमा खन्नुपर्ने आवश्यता औँल्याउँदै आएका छन् । उनीहरूका अनुसार रातुको सतह बढ्दै गएकाले खोला पाँच÷छ फिट गहिरो नपारे तत्कालीन पशुपतिनगर गाविसका ७, ८ र ९ नं. वडाका ८०० घरधुरी र सयौँ बिघा जग्गा कटान र डुबानको जोखिममा छन् । 

स्थानीय विजय सिंहका अनुसार यसअघि रातु खोला तीन वटा भँगालो भएर बग्दासम्म खोलाबाट कुनै समस्या थिएन तर खोलाको प्राकृतिक बहावलाई फर्काएर एउटै भँगालो बनाएपछि रातु खोला पशुपतिनगरका लागि शोक बनेको बताउनुभयो । बहाव फर्काएदेखि गाउँका ५० बिघा जति खेत कटान गर्नुका साथै दर्जनबढी परिवार विस्थापित भएको उहाँले पीडा सुनाउनुभयो । पशुपतिनगर एरियामा रातुको दुवैतिर तटबन्ध नहुँदा गाउँ विस्थापित हुने अवस्थामा पुगेको गाउँका अर्का युवा सन्तोषकुमार महतोले बताउनुभयो । ‘नेताहरूले खोला फर्काए तर पशुपतिनगर एरियामा तटबन्ध लगाउनेतर्फ ध्यान नदिँदा रातुले आफ्नो डेढ बिघा जग्गा कटान गरेको दुखेसो पोख्नुभयो । 

स्थानीय सञ्चारकर्मी एवं नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यसमिति सदस्य अमृत महतोका अनुसार सात राजनीतिक दलको प्रभावमा रहेको बेला तत्कालीन जिल्ला विकास समितिको निर्णयले रातुको तीन शाखालाई एउटै भँगालोमा फर्काएदेखि बर्सेनि खोलाको सतह बढ्दै गएपछि गाउँलेमा चिन्ता थपिएको हो । स्थानीय बच्चु सिंहका अनुसार भँगालो मिसाउनुअघिसम्म पशुपतिनगर क्षेत्रमा रातु खोलाको चौडाइ १७ मिटर जति मात्र थियो । अहिले बढेर तीन सय मिटरभन्दा बढी पुगेको छ । 

गाउँलेहरू पशुपतिनगर गाउँ बचाउन या त तटबन्ध या नदीको सतहलाई पाँचभन्दा बढी फिट गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् । जिल्ला समन्वय समितिका महोत्तरीका प्रमुख सुमनलाल कर्णले मानवीय क्षति अपूरणीय भएकाले यसप्रति सबैले संंवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । यसैबिच जिल्ला अनुगमन समितिको टोलीले भने मापदण्डको परिधिमा रहेर उत्खनन गर्न सुझाएको छ । कतिपय ठाउँमा उत्खनन नियन्त्रित र मापदण्ड अनुसार नपाइएको अनुगमन समितिको ठहर छ । 

नगरपालिकाले गरेको अनुगमनका व्रmममा भने उत्खनन क्षेत्रको नापजाँच गर्दा १ नं. प्याकेज किसाननगरमा मापदण्ड अनुसार उत्खनन भएको, २ नं. प्याकेज जुरे टोलमा मापदण्डभन्दा दुई इन्च बढी खनिएको, ३ नं. प्याकेज फूलबारीखण्डमा सबैभन्दा धेरै दुई फिट बढी गहिराइमा खनिएको र ४ नं. प्याकेजमा मापदण्डभन्दा आधा फिट बढी उत्खनन गरिएको पाइएको थियो । 

बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले त्यस्ता ठेकेदारलाई मापदण्डको परिधिमा रहेर उत्खनन गर्न सचेत तुल्याउनुका साथै अटेर गर्नेविरुद्ध कारबाहीका प्रव्रिmया अगाडि बढाउने जनाउनुभयो ।