• १२ असोज २०८१, शनिबार

राष्ट्रिय सभाको निर्वाचन: शीर्ष नेताको छलफल सकियो, अर्को बैठक बिहीबार बस्ने

blog

बालुवाटारमा पत्रकारसँग कुराकानी गर्नुहुँदै नेकपा (एस) का नेता राजेन्द्र पाण्डे ।

काठमाडौं, पुस १८ गते। बालुवाटारमा राष्ट्रिय  सभा निर्वाचन सम्बन्धमा शीर्ष नेताबिच छलफल भएको छ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूबिच छलफल भएको नेकपा (एस) का नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो।

राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दिने विषयमा शीर्ष नेताहरूबिच छलफल भएको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “पुस २३ गते उम्मेदवारी दिने सम्बन्धमा एमाले पार्टीको प्रतिनिधि रहेको ९ सिट छ। यो ९ सिटको बारेमा के गर्ने भन्नेमा सरसल्लाह भयो। सरसल्लाह टुङ्गिएको छैन।” एमालेलाई सहभागी गरेर जाने कि भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको कुराकानी भएको उहाँको भनाइ छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सत्ता गठबन्धन दलहरू शीर्ष नेतासहित हामी दोस्रो तहका नेताहरूको बैठक बस्यो। मुख्य दुई एजेण्डा, एउटा एजेण्डा भारतीय परराष्ट्रमन्त्री पनि आउँदै हुनुहुन्छ। भारतसँग भएका कतिपय सन्धिहरू, पञ्चेश्वरबारे सन्धि, महाकाली सन्धिमा उल्लेख भएका कुरामा कसरी मिलाएर कुराकानी गर्ने भनेर प्रधानमन्त्रीले विभिन्न ढङ्गले तयार गर्नुभएको ब्रिफिङ गर्नुभयो।”

उहाँका अनुसार यस विषयमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताबिच छुट्टा–छुट्टै छलफल भएको छ। सत्ता गठबन्धन दलको छलफल लगत्तै एमाले अध्यक्ष ओली बैठकमा सहभागी हुनुभएको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “ठ्याक्कै टुङ्गोमा पुगेका छैनौँ। ओलीजी निस्किसक्नुभयो। कांग्रेस र माओवादीबिच ओलीजीले यस्तो प्रस्ताव ल्याए भने के गर्न सकिएला भन्ने छलफल गर्नुभएको हो।”

उहाँले बैठक भोलि बिहान ९ बजे फेरि बस्ने बताउनुभयो।