• १३ असार २०८१, बिहिबार

न्याय परिषद् सदस्य श्रेष्ठलाई बारको पत्र

blog

फाइल तस्बिर

काठमाडौँ, पुस १८ गते । नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन) का विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफलका लागि बोलाएको छ ।

बारमा महासचिव अन्जिता खनालले आज परिषद्का सदस्य श्रेष्ठलाई बिहीबार छलफलका लागि उपस्थित हुन आज पत्र पठाउनुभएको छ । न्यायाधीशहरूको ज्येष्ठता र वरियताक्रम नै फेरबदल हुने गरी न्याय परिषद् नियमावली संशोधन गरिएको विषयमा स्पष्ट हुनका लागि छलफलका लागि बोलाइएको महासचिव खनालले जानकारी दिनुभयो ।

“न्याय परिषद् नियमावली संशोधनप्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भई प्रधानन्यायाधीश एवं सदस्यलाई पटक पटक ध्यानाकर्षण गराइएको छ”, पत्रमा भनिएको छ, “न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा समेत यहाँ र बारको कार्यसमिति बिचमा छलफल गर्नुपर्ने भएकाले उपस्थितिका लागि अनुरोध गर्दछौँ ।”

अघिल्लै मितिमा नियुक्त भएका बहालवाला न्यायाधीशको ज्येष्ठताक्रम स्वतः पछि हुने गरी भएको संशोधन गरेकोप्रति कानुन व्यवसायीको छाता सङ्गठन बारले विरोध गर्दै आएको थियो । बारले उक्त विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष ज्ञापनपत्रसमेत बुझाएको थियो । रासस