• ३० वैशाख २०८१, आइतबार

वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी

blog

काठमाडौँ, पुस १८ गते । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका छन् ।  

अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक एक लाख तलब प्राप्त हुने प्रलोभनमा पारी पटक-पटक गरेर उक्त रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

यसैगरी कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ । निजले  वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन् । 

यसैबिच, स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका-४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ ।  सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ । रासस