• १२ असोज २०८१, शनिबार

भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप काम अगाडी बढाएको छु : मुख्यमन्त्री यादव

blog

धर्बेन्द्र झा 

धनुषा, पुष १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप प्रदेश सरकारले आफ्नो कामकाज अगाडी बढाएको बताउनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले विगतमा प्रदेश सरकारले यदि कुनै अनियमितता गरेको छ र त्यसको अनुसन्धान गर्नुपर्ने छ भने अख्तियारलाई अनुसन्धानका लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आफ्नो पालामा बजेटको दुरुपयोग र योजनाहरूको बिक्री नहुने भन्दै वर्तमान प्रदेश सरकारलाई सूचना लुकाउने बानी नभएको बताउनुभयो । सरकारको कामकाजको बारेमा कसैलाई कुनै प्रकारको सूचना आवश्यक भए कार्यालय समयमा आएर लिनका लागि उहाँले सबैमा अनुरोध गर्नुभयो । उहाँले काम गरेर पनि विगतमा कमिसन नदिएको कारण भुक्तानी नपाएको प्रष्ट उदाहरण देखिएकोले त्यसो नहुन दिनका लागि यस पटक सचिवको अध्यक्षतामा अनुगमन समिति बनाइएको र काम गर्नेले समयमै भुक्तानी पाउने जानकारी दिनुभयो । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सुशासन कायम गर्नका लागि मानसिक रूपमा कार्यशैलीमा परिवर्तन आवश्यक भएको बताउनुभयो । उहाँले भ्रष्ट मुक्त समाज निमार्णको लागि सेवा प्रवाहमा सुधारको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, "कानुनको ज्ञान कर्मचारीमा हुन्छन् कि जनप्रतिनिधिमा । उहाँहरु त जनताको मतले जितेर आएका हुन्छन् । ब्युरोक्रेटले राजनीतिक नेतृत्वलाई कानुन बमोजिम काम गर्न  लगाउनु पर्छ ।" 

प्रमुख आयुक्त राईले तिनै तहका सरकारले मिलेर सुशासन कायम गर्न सक्ने भन्दै सुशासनको लागि कार्यकारी बागडोर सम्हालेकाले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अख्तियारमा उजुरी पर्दैमा कसैले डराउनु पर्ने आवश्यकता नभएको भन्दै गलत नगरेकाले सफाइ पाउने गरेको बताउनुभयो । उहाँले कहिलेकाहीँ तथ्य र प्रमाण ढिलो आएमा अनुसन्धान ढिलो हुने गरेको भन्दै त्यसलाई अन्यथा लिन नहुने बताउनुभयो । कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव दिनेश घिमिरेले कानुनको कार्यान्वयन र विधिको शासन प्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा सहभागी विभिन्न पालिकाका नगर प्रमुख, उपप्रमुख, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरूले कामकाज गर्दा आउने गरेको समस्याको विषयमा अवगत गराउँदै त्यसको समाधानका लागि प्रमुख आयुक्त समक्ष जिज्ञासा राख्नुभएको थियो ।