• १४ असार २०८१, शुक्रबार

गण्डकीमा तीन सिटका लागि नौ जना सिफारिस

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १८ गते। राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेशले तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको छ। 

एमाले गण्डकीले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको हो। अन्यतर्फ चक्रबहादुर पराजुली, मोहनलाल शर्मा र ममतादेवी शर्मा उपाध्याय सिफारिस हुनुभएको छ। अपाङ्गता अल्पसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मिना बराम सिफारिसमा पर्नुभएको छ।

महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी  सिग्देल अर्याल उम्मेदवार सिफारिस हुनुभएको छ। राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुँदै छ। गण्डकीमा तीन क्लस्टरमा एक/एक गरी तीन पदका लागि निर्वाचन हुँदै छ। अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यकमा निर्वाचन हुन लागेको हो। 

राष्ट्रिय सभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदै छ। अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित हुनुभएको हो।

एमाले गण्डकी अध्यक्ष नवराज शर्माले बुधबार भएको प्रदेश कमिटीको बैठकले सर्वसम्मत उम्मेदवारहरू सिफारिस गरेको जानकारी दिनुभयो। “पन्ध्र/सोह्र जनाको नाम आएको थियो। बैठकबाट सर्वसम्मत तीन तीन जनाको नाम सिफारिस गरी पठाएका छौँ।”