• १४ असार २०८१, शुक्रबार

भाडामा ड्रेस : संस्कृति संरक्षणसँगै कमाइ

blog

भाडामा दिनका लागि जाखोर ताल क्षेत्रमा राखिएको विभिन्न जातिको पहिरन । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस १८ गते । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी रेविका राना लेहङ्गा चोलियामा चट्ट सजिनु भएको थियो । उहाँले एक सय रुपियाँ दिएर भाडामा लेहेङ्गा, चोलिया लिनु भएको हो । थारु जातिको परम्परागत पहिरनमा सजिएर रानाले धनगढीमा रहेको पर्यटकीयस्थल जाखोर तालमा फोटो सुट गराउनुका साथै रहर पूरा हुने गरी भिडियो पनि बनाउनुभयो । 

“मैले एक घण्टाका लागि यो ड्रेस भाडामा लिएकी हुँ”, जाखोर तालमा भेटिनु भएकी उहाँले भन्नुभयो । राना जस्तै पर्यटकीय क्षेत्रमा घुमफिरका लागि पुग्नेले विभिन्न समुदायको पहिरन लगाएर फोटो सुट गराउने कार्य बढ्दा भाडामा पहिरन दिने व्यापार फष्टाउन थालेको छ । 

थारु, नेवार, मगर, तामाङ लगायतका समुदायको मौलिक पहिरन भाडामा दिने व्यापार फष्टाउन थालेको हो । पर्यटकीय क्षेत्रमा यसरी भाडामा ड्रेस उपलब्ध गराउनेले दैनिक पाँच हजार रुपियाँसम्म आम्दानी गरिरहेका छन् । उनीहरूले प्रति घण्टाको लागि एक सयदेखि दुई सय रुपियाँमा विभिन्न जातिको पहिरन र गरगहना भाडामा दिने गरेका छन् । 

आधा घण्टाको एक सय र एक घण्टाको दुई सय रुपियाँमा ड्रेस उपलब्ध गराउने गरेको सो कार्यमा संलग्न सुमित्रा रानाले बताउनुभयो । यस्तो व्यापारबाट कुनै कुनै दिन पाँच हजार रुपियाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ थियो । 

“अहिले घुम्न आउने घटेकाले व्यापार पनि घटेको छ”, रानाले भन्नुभयो,“दसैँ, दीपावली ताका ड्रेस भाडामा दिएर राम्रो कमाइ भएको थियो ।”

पर्यटकीय स्थलहरू जाखोर ताल, गोदावरी लगायतमा भाडा तिरेर विभिन्न समुदायको मौलिक पहिरन लगाउन पाउने व्यवस्था गरिएको छ । यसले, विभिन्न समुदायको संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै कमाइ पनि भइरहेको भाडामा ड्रेस दिने व्यापार गर्दै आएकाले बताउने गरेका छन् । घुम्न आउने विभिन्न जातिका मानिसले यस्ता मौलिक ड्रेस भाडामा लिएर रमाउने गरेको ट्वीन्स कलेक्सनकी सपना चौधरीले बताउनुभयो ।