• १३ असार २०८१, बिहिबार

सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक

blog

सौराहा । फाइल तस्बिर

भरतपुर (चितवन), पुस १८ गते । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । 

सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “यो अवस्था रहिरह्यो भने चिनियाँ पर्यटकको सङ्ख्या पुरानै लयमा फर्कन्छ”, उहाँले भन्नुभयो, “सौराहाका ९० प्रतिशतभन्दा बढी होटल बुकिङ छन् । भारतमा सार्वजनिक बिदा भएका कारण पनि घुम्न आउने भारतीय  नागरिक बढेका हुन् ।” चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । 

सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीको भनाइ थियो । सौराहामा पर्यटक बढाउन प्रचार-प्रसार अभियान लिएर देश-विदेश जाने योजना रहेको बताउँदै उहाँले ‘घुमौँ सौराहा अभियान’ लिएर चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपाल जाने योजना रहेको जानकारी दिनुभयो । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनासो थियो ।

क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताउनुभयो । “यसरी नै पर्यटकको सङ्ख्या बढ्दै जाने हो भने व्यवसायबाट पलायन हुनु पर्दैन”, उहाँले भन्नुभयो, “थप लगानी र सम्भावनाका ढोका खुल्दै जान्छन् । देशभित्रका सडक समयमै निर्माण नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन ।” सौराहाका रेस्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका अध्यक्ष नरेश गिरीले बताउनुभयो । 

उहाँका अनुसार सौराहामा आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य छ । यहाँ झण्डै दुई सय रेष्टुरेन्ट छन् । सौराहामा मात्र साना–ठुला गरी एक सय ४१ होटल छन् भने पश्चिम चितवनको जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सेयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहेको देखिन्छ । रासस