• १३ असार २०८१, बिहिबार

इन्जिनियरले सातौँ तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्थाका लागि पहल गर्छु : मन्त्री ज्वाला

blog

बुधबार काठमाडौँमा आयोजित इन्जिनियरको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत ।

काठमाडौँ, पुस १८ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरले निजामती सेवामा सातौँ तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताउनुभएको छ । 

बुधबार काठमाडौँमा आयोजित इन्जिनियरको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री ज्वालाले प्राविधिक कार्यालयको नेतृत्व प्राविधिकले नै गर्न पाउने इन्जिनियरको माग जायज रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गराउने काममा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले धेरै महत्तवपूर्ण निकायमा छुट्टै इन्जिनियरिङ शाखाको स्थापना गर्न सकिने आश्वासनसमेत दिनुभयो । मन्त्री ज्वालाले कार्यालयमा प्राविधिकको नेतृत्वदायी भूमिका नहुँदा कतिपय काम अघि बढाउन असजिलो भइरहेको उल्लेख गर्दै त्यसमा सुधार ल्याउने काममा आफू लागिपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब छैठौं तहबाट सेवा सुरु हुने कुरालाई पटक-पटक भन्नुभएको छ । सातौँ तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्थाको कुरा गर्नुभएको छ । त्यस्तै गरेर प्राविधिक कार्यालयको प्रमुख प्राविधिकनै हुनुपर्ने । प्राविधिक कार्यालय छ तर नेतृत्वको चाहिँ प्राविधिक छैन भने निश्चत रुपमा पनि असजिलो हुन्छ । अथवा कामको तालमेल हुँदैन ।’’

मन्त्री ज्वालाले सरकारले इन्जिनियर पलायन हुन नदिनेगरी आवश्यक वातावरण बनाउने कामलाई प्राथमिकता दिएको बताउनुभयो ।