• १२ असोज २०८१, शनिबार

पुस २० गतेदेखि पाँच दिनसम्म धरान उत्सव

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राई ।

निशा राई 

धरान, पुस १८ गते। धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा पाँच दिन धरान उत्सव मनाइने भएको छ। 

बुधबार उपमहानगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख हर्कराज राईले पुस २० गतेदेखि २४ गतेसम्म पब्लिक स्कुलको खेल मैदानमा विभिन्न कार्यक्रम गरी धरान उत्सव मनाउने जानकारी दिनुभयो। महानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रूपमा मनाउने तयारी गरेको छ।

उत्सव उद्घाटनको अघिल्लो दिन पुस १९ गते उपमहानगरपालिकाले हिमालय पेट्रोल पम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने नगरप्रमुख राईले बताउनुभयो। 

पहिलो दिन पुस २० गते बिहान साढे १० बजे र्‍याली निकालेर धरान उत्सवको उद्घाटन समारोह हुनेछ। 

त्यसैगरी पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, २२ गते वाकाथुन, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र लोकदोहोरी कार्यक्रम, पुस २३ गते श्रमदाता र्‍याली र झाँकी प्रदर्शन र पुस २४ गते अन्तिम दिन लगानी गोष्ठी सञ्चालन, डोरी तान्ने प्रतियोगिता, कदर पत्र तथा प्रशंसा कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिनुभयो। 

कार्यक्रम अवधिभर स्वास्थ्यसँग सम्बन्धित क्रियाकलाप निःशुल्क हुने साथै सांस्कृतिक कार्यक्रम र सरसफाइ जनचेतनामूलक क्रियाकलाप आयोजना गरिनेछ।