• १४ असार २०८१, शुक्रबार

इन्जिनियरले आफ्नो गरिमा बचाउनुपर्छ : मन्त्री गुरुङ

blog

नेपाल इन्जिनियरिङ एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्नुहुँदै शहरी विकासमन्त्री सीता गुरुङ । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस १८ गते । सहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरूलाई आफ्नो पदीय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ । देश विकासको गर्विलो आधार र आम मानिसहरूले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरूले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाए थियो ।

बुधबारबाट काठमाडौँमा सुरु भएको नेपाल इन्जिनियरिङ एसोसिएसनको १६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले नेपाली जनताको विकासको तीव्र चाहनालाई सम्बोधन हुनेगरी पूर्वाधार विकासका काममा इन्जिनियरहरू लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

‘‘नेपालको भूगोल हिमाल, पहाड र तराई । अनि साँच्चै नेपालको उपयोगी भूमि कति छ भनेर हेर्ने हो भने हामीसँग थोरै मात्रै छ । यस्तो ठाउँ आम जनता हामीहरु छरिएर बसेका छौँ । सबैको विकासका चाहना तीव्र छ । हाम्रो चाहना पनि सबैलाई घरदैलोसम्म विकासका पूर्वाधार पुर्‍याउने चाहना छ ।,’’ मन्त्री गुरुङले भन्नुभयो, ‘‘यति हुँदाहुँदै पनि हामीले पुर्‍याउन सकेका छैनौँ ।  पुर्‍याउनका निम्ति कोसिस गरिरहेका छौँ । तर पनि समयमा काम नहुने, हामीले तयारी गरेको डिजाइनहरू साँच्चिकै प्रभावकारी नहुने, साँच्चिकै जनमैत्री नहुने, जनमुखी नहुने । यी र यस्ता चुनौती पनि हाम्रो बिचमा भइरहेका हुँदा आगामी दिनमा यस्ता चुनौतीलाई सामना गर्दै नयाँ प्रविधिका कुरा छ ।’’

मन्त्री गुरुङले पूर्वाधार निर्माणको कामलाई जनमैत्री बनाउनुपर्नेमा पनि इन्जिनियरहरू सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार विकासका कारण जोखिमयुक्त अवस्था आउन नदिनका लागि सम्बन्धित पक्षहरुबीचमा बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘‘हामीले पूर्वाधार विकासका कामहरू गरेका छौँ । तर त्यसले धेरै जोखिमहरू पनि उठाइरहेको छ । यो जोखिम उठाउने कामको नजिकबाट देख्ने आँखा इन्जिनियरिङ आँखा नै हो । तर इन्जिनियरिङ आँखाले पनि यस्ता कुराहरूलाई ध्यान नराखी जाने हो भने अझ समस्याहरू बढ्दै जाने भएका कारणले गर्दाखेरी यो विषय पनि हामी सबैले समयमै सोच्नुपर्ने र यसलाई कार्यान्वयनमा लैजानुपर्ने अवस्था पनि मैले देखेको छु । यसमा तपाईँहरूको साथ र सहयोगको पनि अनुरोध गर्न चाहन्छु ।’’

मन्त्री गुरुङले प्रभावकारी हुनेगरी पूर्वाधार निर्माणका लागि डिजाइनको काम गर्ने कुरामा पनि इन्जिनियरहरूलाई सचेत गराउनुभयो ।