• २५ वैशाख २०८१, मङ्गलबार

जलेकाे २० वर्षपछि आदिकवि भानुभक्तकाे घर पुन:निर्माण गरिँदै

blog

पुन:निर्माण गर्न लागिएको भानुको नमुना घर ।

अमरराज नहर्की

तनहुँ, पुस १८ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेकाे २० वर्षपछि पुन:निर्माण हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो ।

२०६० सालमा जङ्गलमा लागेको आगोले जलेर ध्वस्त भएको घरको शिलान्यास भएको सात वर्षपछि पुन:निर्माण हुन लागेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । मञ्चकै सक्रियतामा काम पुनः सुरु हुन लागेको उहाँले बताउनुभयो। उहाँका अनुसार गामी माघदेखि काम सुरु गर्ने तयारी छ । 

कार्यकारी निर्देशक रानाभाटले भन्नुभयो, “लामो समयदेखि काम नभएकोले समितिकै सक्रियतामा घर बनाउने तयारी गरिएकोमा मञ्चका पदाधिकारीले हामी नै बनाउँछौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ ।’’ करिब एक करोडको लागतमा पुनर्निर्माणको तयारी भइरहेको रानाभाटले बताउनुभयो । घर निर्माणका लागि मञ्चका तर्फबाट आर्थिक सङ्कलन भएको छ । 

रानाभाटका अनुसार सात वर्षअघि रु. ६८ लाख अनुमान गरिएको र हाल महँगी बढेकाले रु. एक करोड लाग्ने अनुमान गरिएको छ । खरले छाउँदा आगोको जोखिम धेरै हुने भएको ढलान गरी त्यसमाथि ढुङ्गाले छाउने गरी डिजाइन तयार भएको छ । यस वर्ष जसरी पनि भानुगृह निर्माणको काम सुरु गर्ने तयारीमा समिति थियो । तर अब मञ्चकै सक्रियतामा काम सुरु हुने र मञ्चका तर्फबाट समितिलाई परिपत्र भइसकेको निर्देशक रानाभाटको भनाइ छ । समितिले शिखरकटेरीमा सुरक्षाको लागि तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । 

जङ्गलको बिचमा भएकाले संरक्षणविहीन अवस्थामा पुगेको छ । घरको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको र पानी र बत्तीको सुविधा पुगिसकेको उहाँ बताउनुहुन्छ । यसअघि कच्ची बाटो, पानी र बत्तीको समस्या लगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनः निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । 

भानु–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भानुको योगदानलाई कदर गर्दै उहाँको जन्मस्थल चुदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुर्ननिर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएको लामो समाय बितिसक्दा पनि निर्माण हुन सकेको थिएन ।

भानुभक्त जन्मेको घर जहाँ बसेर उहाँले काव्य रचना गर्नुभएको थियो त्यो घर भग्नावशेष अवस्थामा छ ।  वि.सं. २०५५ सालमा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले एक लाख २६ हजारमा पुनर्निर्माण गरेको थियो । 

भानुको जन्मस्थल क्षेत्रको विकास गरेर साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सरकारले २०५२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहने गरी भानु जन्मस्थल समिति गठन गरी समितिका लागि बजेट पनि विनियोजन गर्न थाल्यो । तर विनियोजित बजेट कार्यकारी निर्देशक र कार्यालय सञ्चालन बाहेक अन्य कर्मचारीलाई तलब खुवाउन नपुग्ने रहेको समितिका अध्यक्ष ऋषिराम पन्त बताउनुहुन्छ । सुरुमा जे जति महत्वका साथ समिति गठन गरिएको थियो राज्य पक्षको पर्याप्त चासो नपुग्दा र समयमै आवश्यक बजेट विनियोजन नहुँदा अहिले समितिले प्रभावकारी काम गर्न नसकेको उहाँ बताउनुहुन्छ ।

भानु जन्मस्थलको बृहत्तर विकासका लागि समिति गठन गरिएको र समितिको मुख्य काम भानुको जन्मघरको संरक्षण, उहाँका रचनाको प्रचार अनि भानु क्षेत्रको विकास गर्ने भए पनि पर्याप्त बजेट नहुँदा समितिले प्रभावकारी काम गर्न नसकेको उहाँको भनाइ छ  ।