• १२ असोज २०८१, शनिबार

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय अधिवेशन टीकापुरमा हुने

blog

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय अधिवेशनबारे जानकारी दिनुहुँदै पार्टीका संरक्षक रेशमलाल चौधरी । तस्बिर : भावना जोशी

भावना जोशी
अत्तरिया, पुस १९ गते । 
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ । पार्टीले  पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने जनाएको छ । प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका शीर्ष नेताहरू पनि टीकापुर आउनुहुने कार्यक्रम रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिनुभयो ।

यसैगरी, चौधरीले भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने जानकारी दिनुभयो । चौधरीले भन्नुभयो, ‘‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ । साथै माधव नेपाल, बाबुराम भट्टाराई, सिके राउत र उपेन्द्र यादव पनि आउँदै हुनुहुन्छ ।’’

संरक्षक चौधरीले भन्नुभयो, ‘‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सन्देश पठाउनुहुने छ । साथै सुदूरपश्चिमका मुख्यमन्त्रीज्यू आउनुहुन्छ ।’’

धनगढीमा बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै पार्टीका संरक्षक चौधरीले पार्टीको प्रथम अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर आउने बताउनुभयो । चौधरीले नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनीत गर्ने छ । अधिवेशन तीन दिनसम्म टीकापुरमा सञ्चालन हुने छ ।

टीकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी ५२ जिल्लामा विस्तार भएको छ । चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गर्नु भएको थियो । पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ ।