• १४ असार २०८१, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका आकांक्षी उम्मेदवार धेरै

blog

भवानी ऐर

गोदावरी (कैलाली), पुस १८ गते । माघ ११ गते सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन दलका आकांक्षी उम्मेदवार धेरै देखिएका छन् । सुदूरपश्चिममा तीन पदका लागि नेपाली कांग्रेसले ८२ जना र नेकपा (माओवादी केन्द्र)ले २१ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । 

जिल्ला तहबाट सिफारिस भएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कैलाली जिल्लाबाट सोह्र जना, अछामबाट १४ जना, डोटीबाट ११, बाजुराबाट दश जना, बैतडी, दार्चुला र कञ्चनपुरबाट आठ–आठ जना, डडेल्धुराबाट ५ र बझाङबाट अर्जुनजङ्गबहादुर सिंहको नाम आएकोमा सबैलाई सिफारिस गरिएको हो । यी नाममा पूर्वमन्त्री, सांसददेखि केही नयाँ युवा पनि छन् । 

यस्तै, सत्तागठबन्धनको अर्को ठूलो दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पनि राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि २१ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइका अनुसार खुलातर्फ ९ तथा अपाङ्गता र महिलाबाट ६÷६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो । उहाँका अनुसार माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ । त्यस्तै, अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल (अछाम), जङ्गबहादुर बिक (डोटी) र सञ्जय कट्टेल (बाजुरा) को नाम सिफारिस गरिएको छ । 

महिलातर्फ रेनु चन्द (बैतडी), सरु चौधरी (कैलाली), मोतीकला चलाउने (अछाम), अञ्जिता श्रेष्ठ (डोटी), लीला कुँवर (दार्चुला) र विमला सिंह (कैलाली) को नाम सिफारिस गरिएको माओवादी प्रदेश कार्यालय सचिव भट्टराईले बताउनुभयो । सत्तागठबन्धनमै रहेका नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा गठबन्धनको निर्णयपछि मात्रै आफूहरूले उम्मेदवारको टुङ्गो लगाउने बताएका छन् । 

सत्ता गठबन्धनका चार दलले तालमेल गरेर निर्वाचनमा होमिने तयारी गरिरहेका बेला नेकपा एमाले र राप्रपाले भने अहिलेसम्म एकल लड्ने गरी तयारी गरेका छन् । राप्रपाले प्रत्येक क्लस्टरबाट तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । महिलामा कैलालीबाट जानकीकुमारी कुँवर, कैलालीकै माधवी चन्द र दार्चुलाकी इन्द्रा बोहराको नाम केन्द्रमा सिफारिस गरिएको छ । 

खुल्लामा कैलालीका ऐर स्वार, कैलालीकै लीलाराज भण्डारी र अछामका तेजबहादुर विष्टको नाम सिफारिस गरिएको छ । अपाङ्गता तथा अल्पसङ्ख्यकबाट कञ्चनपुरका जयकृष्ण बोहरा, कञ्चनपुरकै जानकीकुमारी महरा र कैलालीका शेरबहादुर बोहरा छन् । केन्द्रको निर्देशनअनुसार तीन–तीन जनाको नाम पठाइएको प्रदेश सचिवालय सदस्य तथा प्रवक्ता छत्र शाहीले जानकारी दिनुभयो । नेकपा एमालेले तीनै कलष्टरमा तीन–तीन जना उम्मेदवारको नाम पठाउने तयारी गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बताउनुभयो । तर नाम टुङ्गो लाग्न बाँकी उहाँले बताउनुभयो ।

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहनुभएका तीन जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो । 

रिक्त हुने स्थानमा पदपूर्तिको लागि माघ ११ मा निर्वाचन हुँदैछ । तर सत्तारूढ गठबन्धन दलहरूबिच अझै सिट सङ्ख्या बाँडफाँटबारे ठोस निर्णय भइसकेको छैन । आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडि बढाएका हुन् ।