• २६ वैशाख २०८१, बुधबार

पूर्वाधार निर्माणका लागि बजेट विनियोजन

blog

पालिकाको १६ औं गाउँसभा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर थप पाँच करोड रुपियाँ बजेट विनियोजन गरेको छ । मङ्गलबार सम्पन्न भएको १६ औँ गाउँसभामार्फत् गाउँपालिकामा मौज्दात रहेको बजेटबाट चार करोड ९५ लाख ५१ हजार ८ सय २६ रुपियाँ पूर्वाधार विकासका योजनाका लागि थप बजेट विनियोजन गरेको हो । 

गाउँपालिकाभित्रका अधुरा योजना, सडक मर्मत, विद्यालय पूर्वाधार निर्माण लगायत पूर्वाधार निर्माणका क्षेत्रका विभिन्न ८२ वटा योजनाका लागि उक्त बजेट विनियोजन गरेको पालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । 

गत असारमा सम्पन्न १५ औँ गाउँसभाले रघुगंगामा चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि ४३ करोड ५७ लाख ८७ हजार छ सय बराबरको बजेट स्वीकृत गरेको थियो । गाउँसभाबाट गाउँपालिकाको आर्थिक ऐन समेत संशोधन गरिएको छ । गाउँसभामा पालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्न योजना सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्ताहरूलाई अनुरोध गर्नुभयो । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरूको लागत स्टिमेट तयार गरी धमाधम योजना सम्झौताको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । पालिकाले असारे विकासलाई निरुत्साहित गर्न वैशाख मसान्तभित्रै योजना सम्पन्न गर्ने उद्देश्य राखेको उहाँले बताउनुभयो ।