• २० वैशाख २०८१, बिहिबार

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

blog

घोराही (दाङ), पुस १७ गते । घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा हुनुहुन्छ । विगत २३ वर्षदेखि उहाँको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताउनुभयो । 

व्यावसायिकरुपमा मौरीपालन गर्न थालेको दुई दशक बढी भयो । उहाँले भन्नुभयो, “लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहेको छ । यसमा घरपरिवारको पनि सहयोग रहेको छ ।” मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्युठानलगायत जिल्लामासमेत आधुनिक सामग्री पठाउने गर्नुहुन्छ ।

मगरको मौरी फार्म दुई सय घार क्षमताको भए पनि हाल ४५ मौरी छन् । उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमै आएर पनि लैजान्छ”, किसान मगरले भन्नुभयो, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”

अहिले उहाँको फार्ममा युरोपेली, इटाली, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । गत वर्ष माग बढेकाले छ सय प्रतिकिलो बिक्री गर्ने गरेको र यो वर्ष भने खुद्रामा पाँच सय प्रतिकिलो मह बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । थोक बिक्रीका लागि भने जिल्ला मौरीपालन व्यवसायी सङ्घको निर्णयअनुसार मूल्य निर्धारण गरिने उहाँले बताउनुभयो । 

मौरीपालन व्यवसायबाट उहाँले वार्षिक १० लाख आम्दानी गर्न सफल हुनुभएको छ । दुई-तीन वर्ष वैदेशिक रोजगारमा रहँदासमेत मगरले विदेशमा मौरीपालन गरेको देखि प्रभावित भएर नेपाल आएपछि   व्यवसाय थालेको बताउनुभयो । २०५७ सालमा सुरु गर्दा जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या १७ रहेको उहाँ स्मरण गर्नुहुन्छ ।

वर्षा र अत्यधिक चिसो हुने समय ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको उहाँले बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश घरबाटै बिक्री हुने गरेको मौरीपालक किसान मगर बताउनुहुन्छ । मौरीपालन व्यवसाय व्यावसायिक रूपमा सुरु गरेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको अनुभव छ । रासस