• १४ मंसिर २०८१, शुक्रबार

कांग्रेस गुल्मीको अभियान सुरु

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस १७ गते । नेपाली कांग्रेस गुल्मीले वडा केन्द्रित अभियान सुरु गरेको छ । गत मङ्सिर ९ र १० गते सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट पारित तम्घास घोषणापत्र अनुसार 'गुल्मी कांग्रेसको अठोट, सबल वडा, सक्षम टोल' अभियान अन्तर्गत रहेर वडा केन्द्रित अभियान सुरु गरेको हो ।

गुल्मीमा कांग्रेसलाई चलायमान बनाउन वडा तहबाट सो अभियान सञ्चालन गरिएको हो । जिल्लाका ९३ वटै वडामा पार्टीले प्रतिनिधि खटाएर ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवससँगै अभियानको पनि शुभारम्भ गरिएको नेपाली काँग्रेस गुल्मीका कार्यवाहक सभापति अनन्तराम पौड्यालले जानकारी दिनुभयो ।

खटाइएका प्रतिनिधिले वडा तथा टोल-टोलमा पुगेर अग्रजको योगदान स्मरण, सम्मान लगायतका विभिन्न रचनात्मक कार्यक्रम गर्ने उहाँले बताउनुभयो । अभियानका क्रममा जिल्लाका सबै वडामा रहेका पार्टीमा योगदान पुर्‍याएका अग्रज, जुनसुकै आस्था, विचार र पार्टीमा आबद्ध हुनुभएका सहस्र चन्द्र दर्शन गरी सक्नुभएका ज्येष्ठ नागरिकलाई सम्मान गरिने भएको छ ।

जुनसुकै आस्था र पार्टीमा आबद्ध भए पनि स्थानीयस्तरमै योगदान दिएका, उद्यम गरेका युवा र महिलालाई पनि घरमै गएर प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । यो अभियान आगामी चैत मसान्तसम्म सञ्चालन हुने पार्टीका सचिव भगतसिंह खड्काले बताउनुभयो । अभियान अन्तर्गत पहिलो चरणमा वडा समितिले सम्मानित हुनेहरूको लगत सङ्कलन गर्ने भन्दै उहाँले जिल्लाबाट खटिनुभएका प्रतिनिधिहरू तीन दिनसम्म सोही वडामा बस्ने बताउनुभयो ।